
-नरेश के.सी
बेलहिया, ११ जेठ । भन्सार प्रज्ञापनपत्रमा आलु प्याज घोषणा गरेर नेपालमा प्रतिबन्धित कुखुराको मासु भित्र्याई भन्सार पास गर्ने भन्सार क्लियरियन्स एजेन्टको लाइसेन्स निलम्बनमा परेको तथ्य ढिलागरि बाहिर आएको छ ।
सिनपा–१ बेलहिया निवासी नवराज उपाध्ययको नाममा रहेको कोड नम्बर ४०५ को भन्सार क्लियरिङ एजेन्टले गएको चैत्र १८ गते युपी ७० बि टि १७७६ नम्बरको कन्टेनर पास गरेको थियो । ४ वस्तुको घोषणा गरि भन्सार प्रज्ञापनपत्र नम्बर ३३८९ मार्फत उक्त कन्टेनर भैरहवा भन्सार कार्यालयबाट चेकजाच पास भएको थियो ।
रोशन भन्सार क्लियरिङ एजेन्ट नामक फर्म मार्फत काम गर्दै आएका उपाध्यय यसअघि पनि बारम्बार विवादमा आइरहेका एजेन्ट हुन् । विरगन्जका काँशीराज दाहालको प्रतिनिधिको रुपमा काम समेत गर्ने उपाध्यायले हरियो केराऊ ३५ सय केजी १ लाख ४७ हजार भारु, २ लाख २५ हजार भारुको ५ हजार केजी स्वीट कर्न, ५० हजार भारुको २५ सय केजी पोटाटो कट र ९० हजार भारुको १ हजार केजी ताजा माछा प्रज्ञापनत्रमा उल्लेखगरी पास गरेका थिए । तर, उक्त कन्टेनरमा लुकाईछिपाई राखेको ७ हजार केजी कुखुराको मासु राखिएको छ । चेकजाँचका क्रममा राजश्व अनुसन्धानले फेला पारेको हो ।
चोरी पैठारी गरि नेपाल भित्र्याईएको उक्त मासुजन्य पदार्थ र कन्टेनरका अन्य समान जगत सप्लायर्स काठमाण्डौंले आयत गरेको थियो । यसरी भन्सारका कर्मचारीलाई समेत झुक्काई समान पास गर्न माहिर भन्सार एजेन्ट उपाध्याय र उनका सहयोगि सिनपा–३ का मोहिन लारीलाई भन्सारले आवश्यक कारबाही अगाडी बढाएको छ । भैरहवा भन्सारका सूचना अधिकृत कविराम पौडेलका अनुसार उपाध्याय र लारीको एजेन्ट लाइसेन्स निलम्बन गरिएको छ भने उनीहरु दुबै जनालाई जनही ५२ लाख ५८ हजार २ सय ५० रुपैयाँ जरिवाना, गाडीको ५ लाख धरौटी र १ वर्ष कैद तोकिएको छ ।
तर, अभियुक्त दुबैजनाले कैद वापतको प्रतिदिनको ५० रुपैयाँका दरले १८ हजार २ सय ५० रुपैयाँ र अन्य जरिवाना गरि प्रतिव्यक्ति जम्मा ५७ लाख ५८ हजार २ सय ५० रुपैयाँ धरौटी राखेर छुटेका छन् । यता अभियुक्त नवराज उपाध्यायले सो प्रज्ञापनत्रमा भएको हस्ताक्षर आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।
भैरहवा भन्सारमा बारम्बार एजेन्टहरुको विश्वास पर्दा ठूलो चोरी पैठारी भईरहेको घटनाक्रमले देखाएको छ । गएको साउन २६ गते प्रज्ञापनपत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ मार्फत लाखौं मूल्यका मोटरपार्टसको समान भन्सार हाताबाट नै चोरी पैठारी गर्दै गरेको अवस्थमा मिडिया र अख्तियारले थाहा पाएपछि एक जना अधिकृत र २ जना सुब्बा कारबाहीमा परेका थिए ।
उक्त घटनामा एजेन्ट जेल समेत गएका थिए । विभागको उच्चस्तरीय टोलीले छानविन समेत गरेको थियो । यसैहप्ता मात्रै भैरहवा भन्सारबाटै पास भएको ना ७ ख ९३२८ र ना ५ ख ७३८३ नम्बरका ट्रकमा लादै गरेको अवस्थामा २ वटा अबैध ह्यामर राजस्व अनुसन्धानले नै नियन्त्रणमा लिएको छ । ती दुई ट्रकलाई १० लाख धरौटीमा छोडिएको छ । पछिल्लो समय राजस्व अनुसन्धान प्रधानमन्त्री कार्यलय र भन्सार अर्थमन्त्रालय अन्तर्गत भएपछि चेकजाँचमा पनि कडाई हुन थालेको छ । पहिले यी दुबै कार्यलय अर्थमन्त्रालय मातहत थिए ।















प्रतिक्रिया