२९ आश्विन २०८३, बिहिबार

पाँच महिनामै ५७ प्रतिशत राजस्व असुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finance-1भीमदत्तनगर, १५ पुस । सुदूरपश्चिमको प्रमुख भन्सार नाका गड्डाचौकीमा पछिल्लो समय राजस्व सङ्कलनमा सुधार आएको छ ।

दुई वर्षअघिसम्म गड्डाचौकी भन्सार कार्यालयको वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्यभन्दा अहिले दोब्बर राजस्व सङ्कलन भइरहेको छ ।
आर्थिक वर्ष २०६९/०७० मा रु चार करोड ९८ लाख वार्षिक लक्ष्य रहेको थियो भने गत आर्थिक वर्ष रु नौ करोड १० लाख राजस्व सङ्कलन भएको गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

‘चुहावट नियन्त्रणका साथै भन्सार सहजीकरणले राजस्व वृद्धि हुँदै गएको छ ।’ उहाँले भन्नुभयो, ‘अझै थप सुधार गरी राजस्व लक्ष्य बढाउने अभियानमा लागेका छौँ ।’

चालु आर्थिक वर्षमा भन्सार कार्यालयले रु १० करोड ३२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको बताउनुहुँदै  भन्सार अधिकृत रेग्मीले भन्नुभयो ‘वार्षिक लक्ष्यको ५७ प्रतिशत सङ्कलन भइसकेको छ, यो आर्थिक वर्षमा रु १४/१५ करोडसम्म राजस्व सङ्कलन हुने अनुमान गरेका छौँ ।’

गत मङ्सिर मसान्तसम्म रु पाँच करोड ८८ लाख राजस्व सङ्कलन भएको अधिकृत रेग्मीले बताउनुभयो ।

‘मङ्सिर मसान्तसम्म रु तीन करोड सङ्कलन गर्ने लक्ष्य थियो ।’ उहाँले भन्नुभयो, ‘लक्ष्यभन्दा दोब्बर सङ्कलन भएकाले यो आर्थिक वर्षमा अहिलेसम्मकै राजस्व सङ्कलन बढी हुने विश्वास लिएका छौँ ।’

गड्डाचौकी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा मासिक रुपमा रु पाँच लाखदेखि रु नौ लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । विगतको राजस्व असुलीको आधारमा राजस्व लक्ष्य हरेक वर्ष अर्थ मन्त्रालयले बढाउँदै लैजाने गरेको छ ।

‘अहिलेसम्म यो भन्सार कार्यालय व्यावहारिकतामै चलेको रहेछ ।’ रेग्मीले भन्नुभयो, ‘भन्सारको दायरामा ल्याउन निकै चुनौतीको सामना गर्नुप¥यो ।’

उहाँले धेरै व्यापारी तथा व्यवसायीहरू घरका लागिभन्दा व्यापारिक प्रयोजनका लागि भारतबाट सामान ल्याउने गरेको बताउनुभयो । ‘घर, मन्दिर र सामाजिक कामका लागि हो भनेर भन्सार तिर्नै नमान्ने परिपाटी थियो ।’ उहाँले भन्नुभयो, ‘अहिले केही सुधार आएको छ, भन्सार तिर्ने बानी बस्दै गएको छ ।’भन्सार ऐनअनुसार रु १०० भन्दा बढीको सामान आयात गर्दा राजस्व तिर्नुपर्ने हुन्छ ।

महाकाली नदीमा नयाँ पक्की पुल बने सुदूरपश्चिममा राजस्व सङ्कलन पनि बढ्ने उहाँले बताउनुभयो । ‘पुल बने नेपालका उद्योग कलकारखानाका कच्चा पदार्थसमेत यो नाकाबाट ढुवानी गर्न छिटो हुन्छ । उहाँले भन्नुभयो, ‘पुल बने यो क्षेत्रमा उद्योग व्यवसाय पनि फस्टाउँछ ।

भारतका अधिकांश औद्योगिक कलकारखाना उत्तराखण्डमा रहेकाले दूरीका हिसाबले पनि नजिक रहेको उहाँको भनाइ छ ।

‘भारतबाट विभिन्न कम्पनीका कच्चा पदार्थ अन्यत्र नाकाबाट नेपाल ल्याइन्छ’, अधिकृत रेग्मीले भन्नुभयो, ‘महाकालीमा पुल बने यहाँबाट भित्र्याउन निकै छोटो पर्नेछ ।’