काठमाडौं, २८ वैशाख । हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर एवम् माओवादी केन्द्रका नेता सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् ।
कटहरिया नगरपालिकाका मेयर कुसवाहलाई प्रहरीले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेष टोलीले हत्यारा कुसवाहलाई पक्राउ गरेको जनाएको छ ।
हिन्दू युवा संघ पर्साका संस्थापक अध्यक्ष तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालतको वीरगञ्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो ।
राजनीतिक दवावका कारण रौतहट प्रहरीले मेयर कुसवाहलाई पक्राउ गर्न सकेको थिएन । सीआइबीले हिम्मत गरेर मेयर कुसवाहलाई पक्राउ गरेर अदातलमा बुझाएको छ ।
कुसवाह माओवादी केन्द्रका नेता एवम् सांसद प्रभु साहका तत्कालीन समयमा निजी सहयोगी थिए । साहले कुसवाहलाई बचाउन ठूलो प्रयास गरेपनि असफल भएका छन् ।
उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलासले युवा संघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो ।
अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको थियो ।
फैसलाको झण्डै डेढ महिनापछि कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको प्रहरीले जनाएको थियो ।
यसैबीच, हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले तिवारीका हत्यारा माओवादी केन्द्रका नेता एवम् मेयर कुसवाहलाई प्रहरीले पक्राउ गरेमो धन्यावाद दिएका छन् ।
उनले कुसवाह जस्ता अपराधीलाई समाजमा बस्ने अधिकार नरहेको कडा प्रतिक्रिया दिएका छन् ।












प्रतिक्रिया