
काठमाडौं, २४ बैशाख नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए । यद्यपी उनले भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने काम चाहीँ सरकारको भएको प्रतिक्रिया दिए ।
सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता साउदले मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप हार्दिकता आउने पनि विश्वास दिलाए । उनले भने, ‘भ्रमण सफल बनाउनको लागि सरकारले यथेष्ट गृहकार्य गर्नुपर्छ, सायद गरेको होला पनि, भ्रमणलाई उच्चतम हितमा प्रयोग गर्नुपर्छ ।’
नेता साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले थपे, ‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुने थियो, काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुने थियो, किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ, जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले थपे, ‘यही बैशाख २८ गते उहाँले जनकपुरमा पहिलो पटक पाईला टेक्दैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो, तर कसैलाई निरर्थक ईस्र्या लाग्नुको कुनै तुक छैन, ईष्र्या लागे लागिरहोस् ।’
नेपाल र भारतबीच ऐतिहासिक र अटुट सम्बन्ध रहेको बताउँदै मोदी दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झनै मजबुद बनाउनको लागि जनकपुर भ्रमण भएको नेता सुमनले विश्वास दिलाए । उनले भने, ‘प्रदेश नम्बर २ का सम्पूर्ण जनता उहाँलाई भव्य स्वागत गर्नको लागि आतुर छन्, अहिले जनकपुरका पर्खालहरु यहाँका सामाजिक–साँस्कृतिक परम्परा झल्किनेगरि रँगिएका छन्, शहर सफा भएको छ ।’
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘मोदी आफैपनि धार्मिक व्यक्ति हुन्, उहाँ नेपाल आउनुको कारण नेपाली भुमी धार्मिक हो, मोदीले नेपाललाई पुण्यभूमि ठानेका छन् ।’












प्रतिक्रिया