बेन्घाजी, ११ पुस । इस्लामिक स्टेटका विद्रोहीले २२ जना लिबियाली सैनिकको हत्या गरेको समाचार छ ।
उनीहरुले बिहीबार राति ती सैनिकको हत्या गरेका समाचारमा जनाइएको छ ।
लिबियाको एक तेल प्रशोधन केन्द्र कब्जा गर्ने प्रयासस्वरुप उनीहरुले डुङ्गा चढेर सैनिक केन्द्रमा हमला गरेका थिए ।
सो हमलामा परी लिबियाका २२ सैनिकको ज्यान गएको हो । ती विद्रोहीले उक्त तेल केन्द्रको हमला गर्न जाने क्रममा थप २० जना सर्वसाधारणको पनि हत्या गरेका बताइएको छ ।
उनीहरुले लिबियाको बेन्घाजी सहरको एक पूर्वी नगरमा हमला गरेका हुन् । त्यहाँ उनीहरुले पहिलादेखि नै सो तेल प्रशोधन केन्द्रलाई नियन्त्रणमा लिने असफल प्रयास गर्दै आएका छन् ।
उनीहरुले सो केन्द्र कब्जा गर्न बारम्बार प्रयास गर्ने गरेको र बिहीबार पनि उनीहरुको सो प्रयास असफल भएको जानकारी सैनिकले दिएको छ ।
उनीहरु बिजुलीबाट चल्ने द्रुत गतिको डुङ्गाबाटै रकेट प्रहार गरेको र जसका कारण त्यहाँ रहेको तेल केन्द्रको केही भाग क्षतिग्रस्त भएको बताइएको छ ।
इस्लामिक स्टेटले लिबिया र सिरियामा लामो समयदेखि हत्या हिंसा मच्चाउँदै आएका छन् । उनीहरुका कारण कैयौँ सर्वसाधारण पनि मारिएका छन् । रासस/एएफपी













प्रतिक्रिया