–बेलिना थापा
लमजुङ, १३ बैशाख । पारिवारिक समस्याका कारण पढाईलाई निरन्तरता दिन नसकेका मर्स्याङदी गाउँपालिका ३ ढगैँका एक बालकले संरक्षक पाएका छन् । घरको समस्याका कारण कक्षा ८ मा पढ्दै गर्दा पढाई छाडेका १५ बर्षीय अनिल परियारको संरक्षक गाउँपालिका प्रमुख अर्जुन गुरुङ बनेका हुन् ।
परियारलाई गाउँपालिका प्रमुख गुरुङले गाउँपालिकाको अमर माविमा पुन ८ कक्षामा भर्ना गराएका छन् । भर्नासँगै बिहीबार नै पाँच हजार बराबरको स्टेशनरी र २ जोर पोशाक सहयोग गरेका छन् । प्रमुखले परियारको घरमै पुगी सम्झाईबुझाई गरेर भर्ना गराएका थिए ।
‘अनिलको परिवारमा समस्या आएका कारण उनले पढ्न पाएका थिइनन्, मैले उसको बारेमा थाहा पाएपछि घर पुगे’ गाउँपालिका प्रमुख गुरुङले भने, ‘उसलाई अन्य के आवश्यकता पर्छ म हेर्नेछु । गाउँपालिका भित्र पढाईबाट बञ्चित भएकाहरुलाई विद्यालय ल्याउन आवश्यक छ, यसका लागि पहल गर्ने छौँ ।’
भर्ना अभियानको क्रममा संरक्षक बनेका गुरुङले ति बालकलाई समयसमयमा स्टेश्नरी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै प्रत्येक बालबालिका शिक्षाको पहुच्मा पुग्नुपर्ने उनले बताए ।
अनिललाई भर्ना गर्दै प्रमुख गुरुङले विद्यालय बाहिर रहेका अन्य बालबालिकालाई पनि विद्यालयसम्म ल्याउन सबैमा आग्रह गरे । उनले सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तरमा सुधार ल्याउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।
अमर माविका प्रअ तिर्थ बस्नेतले पढाई छोड्न बाध्य भएका बालकलाई विद्यालयमा भर्ना गराएकोमा गाउँपालिका अध्यक्ष गुरुङलाई धन्यवाद दिए । हरेक जनप्रतिनिधिले विद्यालयको पहु्ँचमा नरहेका बालबालिकाहरुको खोजी गरी संरक्षण बनेमा शैक्षिक विकासमा टेवा पुग्ने बताए ।












प्रतिक्रिया