
काठमाडौं, १३ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘यो लोकतान्त्रिक व्यवस्था हो, यसलाई नौलो कुराको रुपमा लिनुहुँदैन, न्यायाधीशहरु कुनै अलौकिक होईनन, उनीहरुपनि मान्छे नै हुन, भेट्न पाउँछन् र पाउनुपर्छ, यो उहाँहरुको अधिकारको कुरा हो ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले हिजोजस्तो अपारदर्शी ढंगले अब नचल्ने स्पष्ट पारे । उनले भने, ‘भेटहरु पारदर्शी हुनुपर्छ, भेट्न नपाउने भन्ने नै हुँदैन नि, अहिले अखबारमा कार्यवाहक प्रधानन्यायाधीशले नेतालाई भेटेको कुरा आएको छ, यो त कर्टेसी हुनसक्छ, तर भेटघाटसँग जोडेर फैसला आयो भने चाहीँ अनि त्यो अपराध हुन्छ, यदि न्यायाधीशको कार्यसम्पादनमा असर प¥यो भने त्यो जघन्य अपराध हुन्छ, भेटघाटहरु स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको जगमा बसेर हुनुपर्छ ।’
मन्त्री तामाङले न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नको लागि आफूहरु यतिवेला कानून निर्माणमा जुटेको बताए । उनले भने, ‘वडाध्यक्षदेखि सरकार प्रमुखसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ, मैले सम्पत्ति सार्वजनिक गर्न यसअघिपनि अपिल गरेको छु, यदि कसैले सम्पत्ति सार्वजनिक गर्दैन भने त्यो अकुत सम्पत्ति कमाएको ठहरिनेछ, भ्रष्टाचार अन्त्यको लागिपनि सम्पत्ति सार्वजनिक गर्न आवश्यक छ ।’
सरकारको पहिलो प्राथमिकता नै कानून निर्माण भएकोले सोही अनुसार आफूहरु लागिपरेको जनाए । उनले थपे, ‘कानून नभईकन विकास निर्माणका कामहरुमा खासगरी सेवा विस्तारमा असर पर्छ, त्यतातिर हाम्रो ध्यान छ, नयाँ संविधान बनेसँगै हामी धेरै कानूनहरु निर्माणमा लागेका छौं, मन्त्रालयमापनि अहिले कानून निर्माणबारे ‘वर्कसप’ नै चलेको छ, अब बस्ने संसदलाई फुर्सद नै नहुनेगरि हामी ‘बिजनेस’ दिन्छौं ।’












प्रतिक्रिया