२२ कार्तिक २०८३, आइतबार

छिमेकी जिल्ला समेटेर एकीकृत विकास: अध्यक्ष दाहाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए ।

यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनले बताए । देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने प्रचण्डको भनाई छ ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताउँदै भने, ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।’

जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उनले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताए । नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उनले भने, ‘एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।’

यी क्षेत्रको आफूले भ्रमण गरिरहेको भन्दै उनले भने , ‘हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु, त्यहाँ रिल्याक्स गर्न गएको होइन, त्यहाँको विकासको सम्भावना हेर्न गएको हुँ ।’

जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै उनले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली शुरु गरिने समेत बताए । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उनले खुलासा गरे ।

चिनियाँ टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउँदै उनले जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताए । स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको बताउँदै दाहालले भने, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’

अर्काे एक प्रसंगमा दाहालले जुन ठाउँमा प्रदेशको राजधानी छ त्यसको नजिकको अर्काे शहरमा व्यवस्थापिका–संसद्को कार्यालय हुने गरी छलफल चलिरहेको बताउँदै उनले हेटौँडा राजधानी भइरहँदा त्यो सम्भावना चितवनमा रहेको बताए ।

पछिल्लो समय चितवनबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासमा केन्द्रित भएका दाहालले ३ नम्बर प्रदेशको प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको बताए । यसैगरी, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहने उनले बताए । –रासस