२२ कार्तिक २०८३, आइतबार

हुम्लामा तीन दिनदेखि विद्युत बन्द हुँदा उपभोक्ता मारमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नृपराज हमाल
हुम्ला, १२ बैशाख । हुम्लाको सिमकोटमा रहेको हिल्दुम साना जल विद्युत आयोजनाको पेन्स्टीक पाईप फुटेपछि सोमबारबाट बिद्युत बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । सोमबारबाट विद्युत अवरुद्ध भए पछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको छ । यस अघि ९ घन्टासम्म लोडसेडिङ गर्दै आएको विद्युत तीन दिनदेखि पुर्ण रुपमा बन्द हुँदा उपभोक्ता अन्यौलमा छन् ।

बैशाख १० गते सोमबार पेन्स्टीक पाईप फुटेर पावर हाउस भित्र क्षती पुर्‍याएका कारण मर्मतमा ढिलाई भएको प्राविधिक बिर्ख दमाईले बताए । पाईप फुटेर बग्ने पानीका कारणले विद्युत उत्पादन केन्द्र नै जोखिममा रहेको र पानीले उत्पादन केन्द्रमा समेत क्षति पुर्‍याएको पावर हाउसमा कार्यरत कर्मचारी बताउँछन् ।

यसअघि २०७४ फागुनमा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा स्थानीय स्तरमा गठन गरिएको सर्वपक्षीय निर्णय अनुसार हिल्दुम साना जल विद्युत आयोजना मर्मत संभार उपभोक्ता समितिले क्षेत्रीय कार्यालय नेपालगञ्जमा मर्मतका लागी पेन्स्टीक पाईप माग गरेको भए पनि आलटाल गरेकाले मर्मतकार्यमा ढिलाई भएको उपभोक्ता समितिका अध्यक्ष तिर्थराज रोकायाले बताए । क्षेत्रीय कार्यालय नेपालगञ्जमा ६५.५ मीटर पेन्स्टीक पाईप माग गरेको तर पाईप दिन आलटाल गरि रहेकाले आफूहरुले मर्मत कार्यलाई सुचारु गर्न नसकेको रोकायाले बताए ।

विद्युतको चरम लापरवाहीका कारण नियमित र समयमै मर्मत संभारका कार्य नगर्दा उपभोत्ता मारमा परेका छन् । ५ सय किलोवाट उत्पादन क्षमता रहेकोमा अहिले पानीको कमीले गर्दा १ सय पचास किलोवाटमात्र उत्पादन हुदै आएको प्राविधिक बताउँछन् । २ सय पचास किलोवाट क्षमताका दुईवटा मेशिन मध्ये एउटा मेशिन बिग्रिएको एक बर्ष पुग्दा समेत मर्मत गरिएको छैन । वितरण केन्द्रले विगत देखि नै यस्तै लापरवाही गर्दै आएको उपभोक्ताहरु बताउँछन् ।

विद्युत सप्लाई नहुँदा सिमकोटमा रहेका २ वटा एफ.एम रेडियोको प्रसारण प्रभावित भएको छ भने कार्यालयका दैनिक कामकाजमा समेत प्रभाव परेको देखिन्छ । विद्युत नहुँदा नेपाल टेलिकमको जिएसएम मोवाईल नेटवर्कले समेत नियमित काम गर्न छोडेको छ जिल्लामा रहेको एक मात्र छापाखाना समेत बन्द भएको छ ।

ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जल विद्युत आयोजनाको चाईनिज कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भई निर्माण कार्य सम्पन्न पश्चात आयोजनालाई हस्तान्तरण गरेको थियो । २०६५ साल जेठ १४ गतेबाट संचालनमा आएको हिल्दुम साना जल विद्युत आयोजनाले हिल्दुम वितरण केन्द्रलाई हस्तान्तरण गरेको छैन । ५ सय किलोवाट उत्पादन क्षमता रहेको भए पनि मुहानमा पानीको बहाव घटेका कारण आयोजनाले यसअघि १ सय ५० किलोवाट मात्र विद्युत उत्पादन गर्दै आएको थियो ।