
काठमाडौं, १० बैशाख । गृहसचिव प्रेमकुमार राईले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामबारे जानकारी समेत लिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारवाही, जनशक्ति, साधन श्रोत, परिचालन, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा विस्तृत रुपमा जानकारी गराए ।
गृहसचिव राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गरे । सो अवसरमा उनले स्थापनाको उद्देश्य पुरा गर्ने दिशामा संगठन सफल ठहरिएको चर्चा गर्दै प्राप्त कार्यादेशलाई प्रभावकारी रुपले कार्यान्वन गर्दै आइरहेको भन्दै संगठनको प्रशंसा समेत गरे ।
उनले अन्य सुरक्षा निकायको साथसाथै सशस्त्र प्रहरी बलको भूमिका पनि मुलुकको शान्ति सुरक्षा कार्यमा सधैं महत्वपूर्ण रहने चर्चा गरे । गृहसचिव राईले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि, विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, मानव बेचबिखन नियन्त्रण लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बतँए ।
वृत्तिविकास, तालिम, सेवासुविधा, स्रोतसाधन र जनशक्ति अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्दै गृहसचिव राईले संगठनका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने चर्चा गरे ।












प्रतिक्रिया