
काठमाडौं, १० बैशाख । भूकम्पबाट क्षतिग्रस्त भृकुटीमण्डपस्थित बुद्ध विहारको पुनःनिर्माण हुने भएको छ । बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने थलोका रुपमा रहेको विहार २०३४ सालमा स्वर्गीय भिक्षु सुमंगल महास्थविरले अग्रसरतामा निर्माण भएको थियो । हाल धम्म हलको रुपमा प्रयोग गर्दै आएको भवन पुनःनिर्माण गर्न लागिएको बुद्ध विहार पुनःनिर्माण समितिले जनाएको छ ।
बैशाख १२ गतेको भूकम्पबाट आशिक क्षति भएको, हाले भवन आगेटिएको क्षेत्र साँघुरो रहेको स्थितिलाई समेत मध्यनजर गर्दै पुनःनिर्माण गर्न लागिएको विहार पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले जानकारी दिए । पुनःनिर्माणका लागि स्वीकृत नक्सा अनुसार ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवन नेपाली मौलिकसहित र कलात्मक हुने छ । विहारको भवन पुनःनिर्माण गर्न करिब ४ करोड लाग्ने अनुमान गरिएको छ । विभिन्न श्रद्धालु दाता, बुद्धधर्मका अनुयायी र सरकारी सहयोग गरी सो लागत रकम जुटाउने समितिको योजना रहेको छ ।
नयाँ भवन बनेपछि करिब ३ सय जना सामूहिक रुपमा बसेर ध्यान, प्रार्थना गर्न मिल्ने, विभिन्न जिल्ला र देशबाहिरबाट आउने आगन्तुक भिक्षुहरुलाई बस्न सहज हुने, भिक्षुहरुलाई तालिम, अभिमुखीकरण गर्न सकिने समितिका उपाध्यक्ष एवं समाजसेवी मोतिलाल शिल्पकारले जानकारी दिए ।
यसैबीच सोमबार आयोजित एक समारोहकाबीच भवनको शिलान्यास गरियो । नेपालका संघउपनायक (दोस्रो ज्येष्ठ) भिक्षु ज्ञाणपूर्णिक महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, काठमाडौं क्षेत्र ८ का प्रदेश सांसद् राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, दाता द्रव्यमानसिंह तुलाधार (भाईराजा साहु) ले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।












प्रतिक्रिया