
काठमाडौं, १० बैशाख । गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप तथा शान्ति सुरक्षा भंग गर्ने गतिविधिबिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । साथै अपराधीहरुलाई पक्राउ तथा कानूनी दायरामा ल्याउन नेपाल प्रहरी तदारुकताका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
गृहसचिव राईले प्रहरी प्रधान कार्यालयमा सोमबार निरीक्षण भ्रमण तथा उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिदै सीमित साधनस्रोत तथा जनशक्तिका बावजूद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय रहेको बताए । गृहसचिव राईले सुशासनका पक्षमा अत्यन्त गम्भीर भएर नेपाल सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न नेपाल प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।
शान्ति सुरक्षा लगायत लागूऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार, राजश्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिविधिमा संलग्नलाई तत्कालै कानूनी दायरामा ल्याउन समेत प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिँदै गृहसचिव राईले सूचना संकलनलाई थप विश्वसनीय बनाउँदै लैजान समेत आग्रह गरे । नेपाल प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउँदै संगठनको सुढृढीकरणमा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको उनले उल्लेख गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको संस्थागत परिचय दिँदै नेपाल प्रहरीको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पूर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको उनले बताए ।
गृहसचिव राई प्रहरी प्रधान कार्यालय प्रवेश गर्नु हुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।












प्रतिक्रिया