नेपालगन्ज, ९ वैशाख । भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ । माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो ।
नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो ।
“छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो”, संयोजक कोइरालाले भन्नुभयो ।
उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया सकिएपछि कोठीबाट उद्धार गरिएका बालिकालाई नेपाल ल्याइने उहाँले बताउनुभयो । गएराति नेपालगन्ज फर्केको कोइराला नेतृत्वको टोलीले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएको हो । –रासस












प्रतिक्रिया