२२ कार्तिक २०८३, आइतबार

रानीपोखरी पुनःनिर्माणमा साढे दुई करोड व्यर्थको खर्च

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

काठमाडौँ, ९ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दा, पुरातत्व विभाग र कामपाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । यस किसिमको तयारीसँगै हालसम्म करीब रु दुई करोड ५० लाख खेर गएको छ । विसं २०७३ वैशाख १० गतेदेखि वर्ल्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो । कामपाले भने आगामी जेठ १ गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम शुरु गर्ने जनाएको छ ।

जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम शुरु गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो ।” स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । –रासस