२२ कार्तिक २०८३, आइतबार

सबै क्षेत्रको सिन्डिकेट खारेज गर्न महासंघको माग

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले शनिबार एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक छैन भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

विगतको राजनीतिक तरलताको फाइदा उठाउँदै भएको सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई महासंघले अपिलसमेत गरेको छ । महासंघले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ । –रासस