–मिना बुढाथोकी
सल्यान, ८ वैशाख । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सल्यानमा चालक र सहचालकलाई सवारीका साधन चलाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा यातायात व्यवसायी समिति सल्यानको सहयोगमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी गोष्ठीको आयोजना गरि उनीहरुलाई विभिन्न विषयमा जानकारी दिइएको हो ।
जिल्लामा भई रहेका सवारी दुर्घटना न्युनिकरण गर्नका लागी सवारी साधनका चालक र सह चालकलाई सवारी ऐन नियमको जानकारी, सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, सकारात्मक जिवनशैली, चालक सहचालकले यात्रुसँग गर्ने व्यवहार, तनाव व्यवस्थापनलगायतका बारेमा जानकारी दिएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरत बहादुर विकले बताए ।
दुई दिनसम्म तालीममा सहभागी भएका चालक रिम केसीले यस प्रकारको तालीम आफ्नो लागी धेरै उपलब्धीमुलक भएको बताए । यातायातका साधनमा यात्रुहरुसँग गरिने व्यवहार कस्तो गर्नु पर्दो रहेछ यस विषयमा यात्रुहरुको अपेक्षा नजिकबाट बुझ्ने मौका मिलेकोमा आगामी दिनमा यात्रु र चालकको सम्बन्ध सुमधुर हुने कुरामा उनको जोड थियो ।
आर्थिक वर्ष २०७४/०७५ साउनदेखि फागुनसम्म जिल्लामा १५ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ । यसरी मुत्युु हुनेमा पुरुष १० जना, महिला ६ जना, बालक २ र बालिका १ वटा रहेका छन् । यस्तै सोही दुर्घटनामा परि १ सय २७ जना घाईते भएका थिए । जसमा ६० जना पुरुष, ४७ जना महिला, १२ जना बालक र बालिका ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया