
काठमाडौँ, ६ बैशाख । सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १८ जना बालकलाई बिहीबार उद्धार गरिएको छ । बुधबारबाट शुरु गरिएको अभियानको दोस्रो दिन उनीहरुको उद्धार गरिएको हो ।
काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका साधनहरुमा बालश्रम रहित बनाउने अभियानको दोस्रो दिन कोटेश्वरबाट १८ जना बालकको उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।
श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको अभियान अन्तर्गत बिहीबार २२३ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टासिएको छ । अनुगमनका क्रममा उद्धार गरिएका बालकहरुलाई संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ ।
श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा अभियान थालिएको हो ।












प्रतिक्रिया