२२ कार्तिक २०८३, आइतबार

बेँसीशहरका १६ विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा
लमजुङ, ४ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बेँसीशहर नगरपालिकाका स्कुलमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नगरपालिका भित्रका १४ मावि र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।

बुधबार बेँसीशहर नगरपालिका–२ स्थित बालकल्याण माविमा विद्युतीय हाजिरी मेसिनको उद्घाटन गरिएको छ । मेसिनको उद्घाटन गर्दै बेँसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले विद्युतीय हाजिरी मेसिनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका साथै शिक्षकहरुको नियमितता हुने बताए । उनले सूचना र प्रविधिको क्षेत्रमा विकास गर्न सकिए मात्र सिंगो देशको विकास हुने बताए । शैक्षिक पद्धती परम्परागत भएकाले अब आधुनिक प्रणालीमा जानुपर्ने उनले बताए ।

विद्यालयमा रहेको विद्युतीय हाजिरीको प्रत्येक महिना पेन ड्राइभमार्फत आफैँले हेर्ने बताए । शैक्षिक क्षेत्रको विकासका लागि शैक्षिण रणनीती निर्माण गरिएको र विद्यालयमा समय समयमा छड्के चेक समेत गरिदै आएको उनले बताए । विद्यालयलाई व्यवस्थित र आधुनिक ढंगले अघि बढाउनका लागि विद्युतीय हाजिरी मेसिनले सहयोग पुर्‍याउने उनको तर्क थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद तिवारीले नगरपालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउनकै लागि विद्युतीय हाजिरी मेसिन सञ्चालनमा ल्याइएको बताए । उनले विद्यालयको शैक्षिक स्तर खस्कीदै गएको अवस्थामा यसले थप टेवा पुर्‍याउने बताए ।

शिक्षा शाखा प्रमुख रामकृष्ण त्रिपाठीले विद्युतीय हाजिरी मेसिनले शिक्षकलाई जिम्मेवार बनाउने र नियमिततामा सहयोग पुर्‍याउने विचार राखे ।

विद्यालयका प्रध्यानध्यापक तिर्थराज न्यौपानेले विद्यालयको निम्ति अवसर रहेको भन्दै उचित उपयोग हुने बताए । मेसिनले विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याउने भन्दै उनले धन्यवाद व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मीदेबी अधिकारी, कार्यक्रम अधिकृत सन्तोष दनाई, बेँसीशहर नगरपालिका २ का अध्यक्ष गणेश कँडेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, विद्यालयका पूर्व प्रअ, शिक्षकहरुको उपस्थिति थियो ।