
-बेलिना थापा
लमजुङ, ३० चैत । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ ताघ्रिङलाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । ताघ्रिङलाई वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सफा, स्वच्छ घर तथा पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
मर्स्याङ्दी गाउँपालिका ४ का वडा अध्यक्ष सुमन गुरुङका अनुसार साविकको ताघ्रिङ गाविसमा रहेका ५ सय ५४ घरधुरीले सरसफाईका सूचक पूरा गरेसंगै बिहीबार ताघ्रिङलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गरिएको हो ।
पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संघीय सरकारको प्राथामिकता स्वास्थ्य र शिक्षा रहेकाले सरसफाईजन्य गतिविधि हरेक स्थानीय तहमा गरिनुपर्ने बताए । उनले स्वास्थ्य र सरसफाई सरकारको अभियान हो यो अभियानलाई तल्लो तहका जनतासामु पुराउनुपर्नेमा जोड दिएका थिए ।
प्रदेश सांसद धनञ्जय दवाडीले हरेक नागरिकका सरसफाई अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने र थप सहयोगका लागि जोड दिइने बताए । संविधान सभा सदस्य जमीन्द्रमान घलेले वडालाई पूर्ण सरसफाई वडा घोषणामात्रै नभई नियमित अनुगमन हुनुपर्नेमा जोड दिए । जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देलले सरसफाईका क्षेत्रमा यसअघि प्रयास गरिएका र हुन नसकेका सरसफाईका कार्यक्रमलाई स्थानीय तहले निरन्तरता दिएर लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, मर्स्याङदी गाउ“पालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, सुआहारा कार्यक्रमका जिल्ला संयोजक श्रीकृष्ण पौडेल, आरसीडीसीका कोषाध्यक्ष पद्मा गुरुङ लगायतले सरसफाईले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने भएकाले यसतर्फ सवैको ध्यान केन्द्रीत हुने बताए ।












प्रतिक्रिया