
बाँके, २८ चैत । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्वागत गरिएको छ ।
बाँकेको अगैयास्थित गाउँपालिका कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडासदस्य, नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायतले देउवालाई बुधबार बिहान स्वागत गरेका हुन् ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथीमा सहभागी हुन दाङ जाने क्रममा पूर्वप्रधानमन्त्री देउवालाई गाउँपालिकाले पुष्प गुच्छासहित खादा ओढाएर स्वागत गरेको
हो ।
करिव ४५ मिनेट गाउँपालिका कार्यालयमै बसेका देउवाले राप्तीसोनारीको अवस्थाबारे जिज्ञासा राखे । गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले देउवालाई गाउँपालिकाको अवस्थाका विविध विषयमा प्रष्ट्याए ।
राप्तीसोनारी गाउँपालिका बाँकेका अन्य गाउँपालिकाभन्दा भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न रहेको जानकारी पाउँदा पूर्वप्रधानमन्त्री देउवाले आश्चर्य प्रकट गर्दै देशकै नमूना गाउँपालिका बनाउन सुझाव दिए ।
मुलुकका धेरैजसो स्थानीय तहहरु भौतिक पूर्वाधार तथा जनशक्ति अभावको समस्याबाट गुज्रिएको भन्दै राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधारबाट आफै सम्पन्न हुनु सकारात्मक कुरा भएको देउवाको भनाई छ ।
सिक्टा सिचाई आयोजनाको ब्यारेज निर्माण गर्न आएको सिनो हाईड्रो कम्पनीले प्रयोग गरी हस्तान्तरण गरेको ४२ कोठे भवनबाट हाल राप्तीसोनारीले कार्य सञ्चालन गर्दै आएको छ ।












प्रतिक्रिया