२२ कार्तिक २०८३, आइतबार

एमाले-माओवादी एकताको गाँठो फुकाउन संयोजन समिति बैठक बस्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ चैत । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको टुंगो लगाउन एकता संयोजन समितिको बैठक बस्दैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक बुधबार साँझलाई बोलाइएका छ ।

संयोजन समितिले राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुवै मस्यौदामाथि छलफल गर्ने छ । दुवै मस्यौदामा कुनै विवाद नरहेकाले पार्टी एकतामा अड्चन नहुने नेताहरुको दाबी छ । हिजो मात्रै एमाले महसाचिव ईश्वर पोखरेलले पोखरामा भएको एउटा सार्वजनिक कार्यक्रममा पार्टी एकताका लागि कुनै द्विविधा नरहेको बताएका थिए ।

राजनीतिक दस्तावेजमा समस्या नभए पनि बिधान र संगठनात्मक मस्यौदामा दुई विषयमा विवाद छ । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्ने कि नराख्ने, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने कार्यदल सदस्यहरुबीच कुरा मिल्न सकेको छैन ।

प्रस्तावित २९९ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीले बराबरीको सिद्धान्तअनुसार प्रतिनिधित्व माग गरेको छ । एमालेले निर्वाचनको परिणामका आधारमा संख्या बाँडफाँट हुनुपर्ने भनेको छ । संख्यामा पनि लगभग ६०/४० को अनुपातमा टुंगो लाग्ने दावी नेताहरुको छ ।

संख्याको बारेमा दुवै अध्यक्षको तहबाट पुनः छलफल हुनसक्ने नेताहरुले बताएका छन् । आउँदो बैशाख ९ गते पार्टी एकता गर्ने एमाले–माओवादीको तयारी छ । तर, यसबीचमा धेरै कुरा मिलाउन बाँकी रहेको छ ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन् ।