काठमाडौँ, २६ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री कङ्गो र सुडानमा संयुक्त राष्ट्रसंघ मिसनको निरीक्षण भ्रमण सकेर सोमबार स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गास्थित ‘मोनुस्को मिसन’मा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित ‘अनमिस मिसन’मा तैनाथ नेपाली कन्टिन्जेण्टको निरीक्षण भ्रमणको लागि गत चैत १९ गते क्षत्री त्यसतर्फ गएका थिए ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । भ्रमणकै दौरान उनले कङ्गोस्थित ‘मोनुस्को मिसन’ र दक्षिण सुडानस्थित ‘अनमिस मिसन’का प्रमुखहरुसँग भेट गरेका थिए ।
प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत पूर्णचन्द्र थापाले स्वागत गरे भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।












प्रतिक्रिया