–रुपलाल बोहोरा/दैनिक नेपाल
डोल्पा, २६ चैत्र । रुकुम को त्रिवेणीदेखी डोल्पाको खदाङसम्मको सडक खण्डको आइतबार साना जीप गुडाएर उद्घाटन गरिएको छ । जाजारकोट–डोल्पा सडक खण्डको रुकुमको त्रिवेणीदेखि डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङसम्म आइतबारबाट जीप गुड्न थालेपछि डोल्पा सडक संजालमा जोडिएको हो ।
जाजारकोटदेखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११७ किलोमिटरमध्ये रुकुमको त्रिवेणीदेखि डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका खदाङसम्मको १४ किलोमिटर सडक खण्ड निर्माण भएको लामो समय पछि बल्ल आइतबार प्रतिनिधि सभा सदस्य तथा पुर्व शान्ति मन्त्री सत्य पाहाडीले उद्घाटन गरेकी हुन् । उद्घाटनमा कणार्ली प्रदेशका सदस्य वीरबहादुर शाही र बदम क्वारी बोहोरा पनि सहभागी भएका थिए ।
सडक संजालमा जोडिएपछि डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीयवासीले भव्य स्वागत गरेका थिए । सडक उद्घाटन गर्न डोल्पा पुगेकी प्रतिनिधि सभा सदस्य सत्य पहाडीले डोल्पा जिल्लाको पहिलो विकास भनेको यातायात नै भएकाले केन्द्रस्तर र प्रदेश स्तरका सबै निकायहरुमा आवाज उठाएको जानकारी गराइन् । अब राज्यले विकट हैन विकसित जिल्लाको रुपमा डोल्पा रहेको हेर्न चाहेको पनि सदस्य पहाडीले बताइन् ।
डोल्पाको प्रत्येक बस्ती–बस्ती मा मोटर बाटो पु¥याउनु आफ्नो प्रमुख जिम्मेवारी भएको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए । अर्की प्रदेश सभा सदस्य बदम क्वारा बोहोराले सबै डोल्पालीको घर आगनमा गाडी पुगेपछि मात्र डोल्पालीको सपना पुरा हुने बताइन् । नेपाली सेनाले डोल्पालीहरुको ओठमा हाँसो ल्याएको पनि सदस्य बोहोराले नेपाली सेनाको प्रशंसा गरेकी थिइन् ।
नेपाली सेनामार्फत यही गतीमा निर्माण कार्य हुँदै गएमा बाँकी रहेका श्रीबिन्डेदेखि चुँ गाडसम्मको ३ किलो मिटर कडा चट्टान काटिएपछि केही महिनामसम्ममै त्रिपुराकोटको बगर पुग्ने नेपाली सेनाका कर्णेल तथा निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । पहाडीले नेपाली सेनाले विभिन्न चुनौतीमाबीच यो निर्माण कार्यलाई निरन्तरता दिएर डोल्पालीको सपना पुरा गरी छोड्ने प्रतिबद्धता जाहेर गरे ।













प्रतिक्रिया