२२ कार्तिक २०८३, आइतबार

भरतपुर अस्पताल विकास समितिका अध्यक्षद्वारा राजीनामा

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ चैत । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आइतबार राजीनामा दिनुभएको छ । गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त हुनु भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिनुभएको हो ।

उहाँले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने सिलसिलामा असमझदारी बढेको भन्दै राजीनामा दिनुभएको हो । राजभण्डारीले मन्त्रालयले अस्पताल विकास समितिको दैनिक एवं स्वभाविक क्रियाकलापमाथि ठाडो हस्तक्षेप गरेकाले कार्यसम्पादनमा असहजता महसुस गरी राजीनामा दिएको बताउनुभयो ।

सरकारलाई आगामी दिनमा आफू अनकूल कार्य सम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गर्दै आजैका मितिदेखि लागू हुने गरी अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएको जनाउनुभएको छ । अस्पतालमा अध्यक्ष भएसँगै अस्पतालले मेडिकल कलेजलाई भाडामा दिएको जग्गाको भाडा पुनरावलोकन गर्ने अडान लिँदै आउनुभएका राजभण्डारीलाई पछिल्लो समय मेडिकल कलेजको अनुकूल हुने गरी भाडा समायोजन गर्न दबाब बढेपछि उहाँले राजीनामा दिएको बताइएको छ ।

राजभण्डारीको १५ महिने कार्यकालमा महत्वपूर्ण कार्य भएका छन् । उहाँले अस्पतालबाट बैठक भत्ताबापत प्राप्त रकम पनि अस्पतालमै रहेको गरिब तथा विपन्न नागरिक कोषमा जम्मा गर्नुभएको छ । –रासस