२२ कार्तिक २०८३, आइतबार

पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २५ चैत्र । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा यही चैत्र २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा ‘खानेपानी, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोफेनका अध्यक्ष रामदीप साहले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन निकै सान्दर्भिक रहने बताए ।

अध्यक्ष साहले भने,‘यसप्रति समयमा ध्यान नदिने हो भने जसलाई हामीले प्रकृतिको वरदान र प्राकृतिक स्रोत मानि आएका छौ, ती हाम्रा सन्ततिका लागि सुरक्षित नहुने अवस्था आउछ । पूर्वाधार र आर्थिक विकास सहित औद्योगिकरणको पनि तीव्र चाहाना राखेका नेपालीको जीवनस्तर उकास्ने र उच्च स्तरको जीवनशैली यापन गर्ने चाहना परिपूर्ति गर्नका लागि विकासको पाइला चाल्दा विश्वको अनुभवलाई हामीले ध्यानमा राखेनौ भने त्यसले हामीलाई थप समस्यातर्फ लैजान सक्छ ।’

साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको वताए । उनले भने, ‘त्यसैले पानी अमूल्य छ । पानीलाई जीवनको रुपमा लिइन्छ । स्वच्छ पानीको उपलब्धता स्वस्थ जीवनसंग अभिन्न रुपमा गासिएको छ ।’ सम्मेलनको संरक्षकत्व खानेपानी मन्त्रालयले लिएको छ भने सम्मेलनको सहआयोजकमा वन तथा वातावरण मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड रहेका छन् ।

पत्रकार सम्मेलनमा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले पानी, खाना र उर्जाको संकट बढ्दै गएकोले यिनको दिगो उपयोगिता विज्ञानको लागि चुनौती भएको बताए । उनले हरेक थोपा पानीको महत्व भएको उल्लेख गर्दै पानीको बहुआयामिक उपयोगितामा ध्यान दिन जरुरी भएको बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सम्मेलन चैत २७ देखि २९ सम्म काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुनेछ ।  तीन दिवसीय सम्मेलनमा खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय, विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरि २० राष्ट्रका विज्ञहरुसहित करिब ५ सय जनाको सहभागिता रहने जनाइएको छ ।