
काठमाडौँ, २५ चैत । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
मन्त्री बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् ।
कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको, मानसिक रुपमा उब्जिएका समस्या समाधान गर्न पनि यसले भूमिका खेल्ने मन्त्री विष्टले बताए । जवाफमा कोरियन राजदूतले सकारत्मक सन्देश दिँदै आफ्नो सरकारले पहल गर्ने बताए ।
परिवारसँग थोरै समयमा विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या पनि कम हुने मन्त्री विष्टको विश्वास छ । यसैगरी सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ ।
कोरियामा अहिले विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको छ । त्यहाँ नर्सिङ गरेकाहरुको अभाव छ । त्यसका आधारमा नेपालीलाई पनि सो मौका उपलब्ध गराउन यस्तो प्रस्ताव गरिएको हो ।
श्रम मन्त्री बिष्टले नेपाली कामदारको बीमालाई २४ घण्टामा विस्तार गर्न पनि कोरियन राजदूतसँग आग्रह गरेका छन् । अहिले कोरियाले ‘वर्किङ आवर’ र कार्यस्थलमा मृत्यु भएका कामदारको बीमा रकम दिने गरेको छ ।
आफूहरु दक्ष कामदार समेत कोरिया पठाउन इच्छुक रहेको भन्दै मन्त्री बिष्टले सीपमुलक तालिमहरुको लागि सहयोग गर्न कोरियसमक्ष आग्रह गरेका छन् । सरकारले कोरियाससँग अहिले दिइरहेको कामदार कोटा पनि बढाइदिन आग्रह गरेको छ ।
जवाफमा राजदूत सिकले कोरियामा विदेशबाट जाने कामदारमा नेपाली र काम्बोडियालीको संख्या धेरै रहेको भन्दै सकारात्मक पहल लिने आश्वासन दिएका छन् ।
मन्त्री बिष्टले कोरियाबाट कामदारले पठाउने रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउने गरी उचित व्यवस्था गर्न पनि आग्रह गरेको निर्देशक खनालले बताए । अहिले त्यहाँ कार्यरत ९० प्रतिशत नेपालीले हुण्डीमार्फत रेमिट्यान्स पठाइरहेका छन् ।












प्रतिक्रिया