१३ कार्तिक २०८३, शुक्रबार

छिमेकीसँगको सम्बन्ध समस्याग्रस्त छ : मणिशंकर ऐयर

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय नेसनल कांग्रेसका नेता मणिशंकर ऐयरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र नेपाल-भारत सम्बन्धबारे गरिएको कुराकानीः

नेपालका प्रधानमन्त्रीले पारस्परिक सम्मान र बराबरीको सम्बन्धको कुरा गर्नुभएको छ। नेपाल–भारत सम्बन्धमा त्यस्तो सम्भव छ ?

यो भ्रमणको उपलब्धिबारे म अहिले केही भन्न सक्दिनँ। तर, ओलीले काठमाडौंमा उठाएका विषय जायज मात्र नभई अत्यावश्यक छन्। भारत जति सार्वभौम राष्ट्र हो नेपाल त्यति नै सार्वभौम राष्ट्र हो भन्ने कुरा भारत सरकार र भारतका हरेक राजनीतिज्ञले आत्मसात् गर्नुपर्छ। हामी अंग्रेजको जमानामा छैनौं, कि कोही फिरंगी आएर यो कुरा बदलियोस् भनेर यो मन परेन, त्यो मन परेन भनेर यो बदलिनुपर्छ त्यो बदलिनुपर्छ भनोस्। मोदीले नेपालमा ठ्याक्कै त्यस्तै व्यवहार गरे। मैले त्यसको कटु आलोचना गरेको हो।

ओली सरकारले समृद्धिको कुरा गरेको छ। त्यसका लागि भारतको सहयोग चाहिन्छ पनि भनेका छन्। मोदी सरकारबाट त्यो अपेक्षा पूरा हुने सम्भावना छ ?

पटक्कै छैन। मोदी सरकारको अब एक वर्षको कार्यकाल बाँकी छ, उनी चुनावबाट बिदा हुन्छन्। हामी सरकारमा आउँछौं।

नाकाबन्दीको विरोध भाजपाले मात्र लगाएजस्तो गरी तपार्इंले आलोचना गर्नुभयो। राजीव गान्धीले लगाएको नाकाबन्दी नेपालीले बिर्सेजस्तो लाग्छ ?

त्यो बेलाको नाकाबन्दी र अहिलेको नाकाबन्दी फरक परिवेशमा छ, त्यतिबेला नेपालमा जनताबाट चुनिएका शासक थिएनन्, निरंकुश राजा थिए। अहिले नेपाल फरक राजनीतिक चरणमा छ। नेपाली जनताले यसपटक निर्वाचन पद्धतिबाट चुनिएका जनप्रतिनिधिबाट संविधान निर्माण गरेका थए। विश्वको उत्कृष्ट संविधानमध्ये एक बनाएका थिए। केही मधेसी नेता–म फेरि दोहोर्‍याएर भन्न चाहन्छु) केही मधेसी नेताले विरोध जनाएको निहुँमा नाकाबन्दी नै गर्नु कुनै अर्थमा पनि न्यायोचित थिएन।

त्यसोभए नेपाल–भारतको सम्बन्ध कुन अवस्थामा छ त ?

मोदी सरकारको अप्रोच नै गलत भएका कारण नेपाल मात्र होइन, सबै छिमेकीसँगको सम्बन्ध समस्याग्रस्त छ।

दुई मुलुकबीचको सम्बन्ध कसरी अगाडि बढ्नुपर्छ त ?

नेपालमा निकै लामो समयपछि राजनीतिक स्थिरता आएको छ। यसले नेपालमा दिगो आर्थिक विकासको सम्भावनाका ढोका खोलेको छ। दुवै मुलुकबीचको सम्बन्ध भएका सम्भावना उजागर गर्ने र त्यसका लागि सहायक बन्ने हुनुपर्छ न कि एकले अर्कालाई अँठ्याउने किसिमको ।

अन्नपूर्ण पोष्ट दैनिकले शंकरको अन्तर्वार्ता छापेको छ ।