गाईघाट, २३ चैत । बढ्दो लैङ्गिक हिंसा, बाल विवाह र लागु पद्धार्थ दुर्व्यसनविरुद्ध जिल्लामा सचेतना कक्षा संचालन गरिएको छ । महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजनामा जिल्लाका विभिन्न विद्यालयहरुमा सचेतना कक्षा संचालन गरिएको हो ।
बनेका ऐनकानुन कार्यान्वयन भएपनि सचेतनाको अभावमा घटनाहरु बढिरहेकाले न्युनिकरणका लागि विद्यालयहरुमा अभियान सञ्चालन गरिएको महिला विकास अधिकृत निर्मला कार्कीले बताइन । सचेतना कक्षामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषधको बारेमा जानकारी दिइएको उनले बताइन ।
उनले भनिन्, ‘विद्यालयमा पढ्ने किशोर किशोरीहरुमा कुलतमा फस्ने सम्भावना बढी हुने हुनाले उनीहरुलाई लक्षित गरेर कार्यक्रम गरिएको हो ।’ कार्यालयले चैत महिनभित्र तीनवटा विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । कार्यालयले जनता अधारभुत विद्यालय असारी, उदयपुर सेकेन्डरी बोर्डिङ स्कुल गाईघाट र त्रियुगा लिटिल फ्लावर बोर्डिङ स्कुल बोक्सेका करिव एक हजार छात्र छात्रालाई अनुशिक्षण गराइएको कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, एसपी नवराज भट्ट, महिला विकास प्रमुख निर्मला कार्की र प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सहजिकरण गरेका छन् । प्रजिअ विष्णु कार्कीले किशोर किशोरी छात्र छात्राहरुलाई आफ्नो बानी व्यहोरा र आचरणको बारेमा सचेत रहन आग्रह गरे । ‘विभिन्न अपराध र कुलतमा फस्ने भनेको किशोर उमेरमै हो, त्यसकारण हामीले कुन कुरा गर्नुहुने कुन नहुने विचार गरेर कदम चाल्नु पर्छ’ प्रजिअ कार्कीले भने ।
त्यस्तै प्रहरी उपरिक्षक एसपी नवराज भट्टले कानुनले निषेध गरेका कुराहरु नगर्न आग्रह गरेका थिए । कानुनी अज्ञानता क्षम्य नहुने हुदाँ लैङ्गिक हिंसा, बालविवाह, लागुपद्र्धाथ दुर्व्यसनमा लागे कानुन अनुसार कार्वाही हुने भट्टले बताए ।
साना उमेरमै विवाह गर्ने र यसको असर दीर्घकालिन समयसम्म रहिरहने भएकाले बालविवाह अन्यतका लागिपनि अभियानलाई अगाडी बढाइएको प्रजिअ कार्कीले बताईन् ।












प्रतिक्रिया