–बेलिना थापा
लमजुङ, २० चैत । बेँसीशहर नगरपालिका–८ सेरामा रहेको जीबन सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नबौँ स्थापना दिवसको अवसरमा सहकारीले जिल्ला कारागारमा पंखा वितरण गरेको छ । सहकारीले कारागारमा रहेका कैदीबन्दीहरुका लागि २ थान सिलिङ पंखा र २ थान स्ट्याण्ड पंखा प्रदान गरेको हो ।
गर्मी बढेसँगै कैदीबन्दीहरुलाई कारागारमा बस्न असहज भएकाले सहकारीले उनीहरुको समस्यालाई मध्यनजर गर्दै पंखा प्रदान गरेको जनाएको छ । सहकारीले १० हजार रुपैयाँ बराबरको पंखा वितरण गरेको शाखा प्रबन्धक धु्रुव दनाईले बताए ।
वितरण कार्यक्रममा सहकारीका अध्यक्ष अर्नुजसिंह बोहोरा, सचिव रामचन्द्र परियार, सहकारी संचालक समितिका सदस्य परशुराम न्यौपाने, विना भण्डारीलगायत कर्मचारीहरुको उपस्थिति थियो । गर्मीको समयमा एउटै कोठामा ३, ४ जना घुम्सीएर बस्न बाध्य भएका कैदीबन्दीहरु पंखा पाएपछि हर्षित भएका छन् । यसअघि पनि सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम, बालगृह लगायतलाई सहयोग गर्दै आएको छ ।
जीवन सहारा बचत तथा ऋण सहकारी संस्था, डिभिजन सहकारीमा दर्ता भई २०६६ साल चैत्र २० गतेबाट विधिवत रुपमा कारोबार शुरु गरेको हो । सहकारीको हाल २ हजार ७ सय ३७ सेयर सदस्य रहेको छ । बचत ७ करोड रहेको छ भने ऋण लगानी ७ करोड ५२ लाख रहेको छ । कुल पुँजी ११ करोड रहेको छ भने एक करोड सेयर पुँजी रहेको शाखा प्रबन्धक दनाईले बताए ।












प्रतिक्रिया