
-नृप हमाल
हुम्ला, १८ चैत । राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभाग अन्तर्गत स्थापना भएको तथ्यांक कार्यालय बाजुराले हुम्ला जिल्लासम्मको तथ्यांक संकलन गर्दै आएको छ ।
देशभरी ३३ जिल्लामा जिल्ला कार्यालय रहेको भएपनि हुम्ला जिल्लामा हालसम्म सो कार्यालय स्थापना समेत नहुँदा बाजुरामा रहेको कार्यालयले हुम्लाको समेत काम गर्दै आएको तथ्यांक अधिकृत खेमराज भट्टले जानकारी दिए ।
बाजुरा जिल्लामा २०५० सालमा स्थापना भएको तथ्यांक कार्यालयले हुम्ला जिल्लामा हेर्दै आएको जनाइएको छ । हुम्लामा वर्षको एकपटक मात्र जिल्लामा कर्मचारी खटाइ हुम्लाको काम गरिरहेको अधिकृत भट्टले बताए । बाजुरा हुम्ला जिल्लासंग दक्षिणतर्फ सिमाना जोडिएको भएपनि यातायातको असुविधाका कारणले हुम्ला जिल्लामा आउन जान समस्या रहेको छ ।
विगतका वर्षमा पैदल आएर काम गरेपनि ७ दिनको मात्र दैनिक भ्रमण भत्ताले हुम्लामा पुग्न फर्किन थप दिन लाग्ने हुदा हाल नेपालगंज हुदै हवाईजहाजबाट हुम्ला सिमकोट आउनु पर्ने भएकोले पटके कार्यक्रम गर्नु परेको भट्टले बताए ।
यस वर्ष हुम्ला जिल्लाको प्रोफाइल र ब्रोसर निकाल्ने योजना रहेकोले हुम्लामा भर्खरै अस्थायी रुपमा स्थापना भएको जिल्ला आर्थिक गणना कार्यालयमा खटिएका कर्मचारीलाईतथ्यांक संकलनको समेत जिम्मा दिएको जनाइएको छ ।
जिल्लाको आर्थिक विवरण राजस्व जस्ता स्थानिय आयश्रोतको संकलन गर्दै आएपनि विगतमा जिविस, जिल्ला प्रशासन र मुख्यमुख्य सरकारी कार्यालयसंग समन्वय गर्न वर्षमा एकपटक हुम्ला आएर विवरण संकलन गरेको तथ्यांक कार्यालय हुम्ला र बाजुराले जनाएको छ । ‘अब प्रदेश नैं फरक भइसकेको अवस्थामा बाजुरावाट हुम्ला हेर्न नसकिएला’, तथ्यांक अधिकृत भट्टले भने ।












प्रतिक्रिया