१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ मा भारतीय राष्ट्रिय गान बजाउने प्रयास असफल

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १८ चैत । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले राजविराजमा शनिबार आयोजित एक समारोहमा बजाउन लागिएको भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् ।

कायस्थ जातिको जातीय समिति चित्रगुप्त सेवा समिति स्थापनाको ५० वर्ष पुगेको अवसर पारी चित्रगुप्त जयन्तीको अवसरमा आयोजना गरिएको स्वर्ण जयन्ती महोत्सवमा बजाउन लागिएको भारतीय राष्ट्रिय गानमा प्रमुख कायस्थले रोक लगाएका हुन् । अन्नपूर्णपोष्ट दैनिकले समाचार छापेको छ ।

उक्त समारोहमा नेपाल र भारतको विहारका विभिन्न जिल्लाका कायस्थ जातिका अगुवालाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुवै देशको राष्ट्रिय गानको कार्यक्रम देखेपछि प्रदेश प्रमुख कायस्थले असन्तुष्टि जनाएको आयोजक मध्येकै एक सदस्यले बताए ।

निर्धारित समयमै प्रदेश प्रमुख कायस्थ आएपनि भारतीय राष्ट्रिय गानका कारण तीन घण्टा ढिलो गरेर कार्यक्रम उद्घाटन भएको थियो ।

प्रदेश प्रमुख कायस्थका प्रमुख स्वकीय सचिव मो. युसुफले आफूले नै कार्यक्रममा भारतीय राष्ट्रिय गान नराख्न आग्रह गरेको बताए ।

प्रदेश प्रमुखको आग्रहमा कार्यक्रम सूचीबाट भारतीय राष्ट्रिय गान हटाइएको जानकारी दिदै उनले संवैधानिक अंगका व्यक्ति मञ्चमा रहँदा भारतीय राष्ट्रिय गान गाउनु उचित नहुने भएकाले आयोजकलाई हटाउन आग्रह गरेको बताए ।

उक्त आग्रहपछि आयोजकले नेपाली राष्ट्रिय गान गरेर कार्यक्रम सुरुवात गर्‍यो ।राजविराजस्थित चित्रगुप्त मन्दिरबाट झाँकीसहित सुरु भएको महोत्सव सोमबारसम्म हुनेछ ।