काठमाडौँ, १७ चैत । रक्षामन्त्री ईश्वर पोखरेल शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा रहेका जनताको समस्या बुझ्न डाँडागाउँ पुगेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको काठमाडौँको उत्तरी क्षेत्रको गाउँमा पुगी रक्षामन्त्री पोखरेलले जनताका समस्या र गुनासा सुन्दै समाधानका निम्ति पहलकदमी लिने बताएका छन् । जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने काम गरिरहेको भन्दै डाँडागाँउका स्थानीयले मन्त्री पोखरेलसँग गुनासो गरेका थिए ।
स्थानीय वालविकास स्कुलका प्राचार्य दोर्जे तामाङले निकुञ्ज क्षेत्र आसपासमा जंगली जनावरले खाद्य बाली नष्ट गरेको भन्दै स्थानीय जनता मर्कामा परेको बताऐ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष स्थानीय दावा लामाले जंगली जनावरबाट खाद्यबालीमा हुने क्षतिबाट जोगाउने काममा स्थायी समाधान नखोजी सरकारले राहत बाँड्ने काममात्रै गरेको बताए ।
स्थानीय आमा समूहका सदस्य हरिमाया तामाङले निकुञ्ज क्षेत्रमा महिला र बालबच्चालाई विहानै स्कुल कलेज जाँदा असुरक्षाको महसुस गरिरहेको गुनासो गरिन् । सुत्केरी र बालबच्चा विरामी पर्दा उपचार मध्यवर्ती क्षेत्रमा यातायातको समस्या हुने भन्दै आमा समूहका सदस्यहरुले निकुञ्जको सुुरक्षामा रहेको नेपाली सेनालाई एम्बुलेन्स र प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरे ।
स्थानीय जनप्रतिनिधि बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, वडा अध्यक्ष विजय तामाङलगायतले निकुञ्जको उपयोग, अधिकार क्षेत्र तथा समृद्धिका निम्ति अपनाउनु पर्ने उपायको सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।
मन्त्री पोखरेलले जनता र स्थानीय जनप्रतिनिधिका गुनासा र सुझाव सुनेपछि त्यससँग सम्बन्धित निकुञ्ज र नेपाली सेनाका प्रतिनिधिहरुबाट समस्या समाधानका निम्ति राय÷सुझाव लिएका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले मध्यवर्तीक्षेत्रका स्थानीय जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गत वर्षदेखि थालिएको बताए । उनले अब छिट्टै निकुञ्जको १२९ किलोमिटरमा रहेको पर्खाललाई व्यवस्थित गरी जंगली जनावर जनताको खेतबारी जान नसक्ने बनाउन लागिएको बताए ।












प्रतिक्रिया