–मिना बुढाथोकी
सल्यान, १६ चैत । सल्यानका स्थानीय निकायका प्रमुखले सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मानबहादुर रानाले सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएको हो ।
कार्यालयको कामका लागी भनेर सरकारी मोटरसाइकल लिएका वडा अध्यक्ष रानाले सरकारी मोटरसाईकल घरमा पानी बोक्नलाई प्रयोग भएको पाइएको छ । एकजना स्थानीयका अनुसार, ‘सरकारी प्रयोजनका लागी पाएको मोटरसाईकल अध्यक्षको घरमा पानी बोक्न प्रयोग हुँदै आएको छ ।’
सवारी साधनको लाईसेन्स बिना नै उनले साविकको सारपानी गर्पा गाविस कार्यालय प्रयोजनमा आएको रा १ ब ३७६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्दै आएका छन् । सो मोटरसाइकल मानबहादुरका छोराले समेत कुदाउने गरेको स्थानीयको भनाई रहेको छ ।
हेलमेट नै प्रयोग नगरेर मोटरसाइकल चलाउने, त्यसमाथी पनि मोटरसाइकलमा तीनजना सवार हुने र अनावश्यक काममा सरकारी मोटरसाइकल वडा अध्यक्षहरुले दौडाउन थालेपछि स्थानीयहरुले पनि आवाज उठाउन थालेका हुन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा यस्तो गुनासो बढ्न थालेको छ । जनताका प्रतिनिधिले जनताकै कामका लागी मात्रै सरकारी सम्पत्ती प्रयोग गर्नुपर्ने स्थानीयहरु बताउँछन् । सरकारी सवारी साधनको दुरुपयोग गर्दा स्थानीय नजप्रतिनिधिको नियतमा समेत प्रश्न उठ्न थालेको छ ।
दुरुपयोग नरोके कारवाही गर्ने प्रशासनको चेतावनी
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सरकारी सवारी साधनहरुको दुरुपयोग नरोके कारवाहि गर्ने चेतावनी दिएका छन् ।
‘लाइसेन्स नभएका र असम्बन्धित जो कोहिले यसरी सरकारी सवारी साधन दुरुपयोग भएमा ठाउँको ठाउँ कारबाहीका लागी निर्देशन दिएको छु’, प्रजिअ घिमिरेले भने, ‘सबै जिम्मेवार जनप्रतिनिधिहरुले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागी सहयोग गर्नुहुनेछ ।’ विदाको दिनमा र कार्यालय समय बाहेक सरकारी सवारी साधन चलाउन अनिवार्य अनुमति लिन समेत उनले आग्रह गरे ।
आफुले प्रहरीलाई कारबाहीका लागी निर्देशन दिइसकेको प्रजिअ घिमिरेले बताए । स्थानिय तहलाई सवारी दुरुपयोग रोकेर दुर्घटना न्यूनिकरणमा सहयोग गर्न समेत उनले आग्रह गरे । वडा अध्यक्षसँग रहेको सो सरकारी मोटरसाईकल कार्यालय प्रयोजन भन्दा पनि अन्य घरायसी काममा प्रयोग भई रहेको पाइएपछि गाँउपािलका अध्यक्ष भिम बहादुर सेनले कार्यालय प्रयोजन बाहेक अन्य कुनै पनि दिन सो सवारी साधनको प्रयोग गर्न नपाईने चेतावनी दिएका दिए ।
वडा अध्यक्षले सवारी साधनको दुरुपयोग गरेको बारेमा कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले साविकका गाविसले खरिद गरेका सवारीसाधन वडा कार्यालयले प्रयोग गरीरहेको र गाउँपालिकाले खरिद गरेका सवारीसाधन गाउँपालिकामै रहेको बताए । उनले सवारीसाधनको दुरुपयोग रोक्न आफुले वडाअध्यक्षको ध्याकर्षण गरीसकेको बताए ।












प्रतिक्रिया