काठमाडौं, १५ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत ओगावा मासासिले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।
भेटमा राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान तयार रहेको प्रतिबद्धता जनाए ।
राजदूत मासासिले गत वर्ष सम्पन्न भएका विभिन्न निर्वाचनमा बाम गठबन्धनको विजय भएको र केन्द्र तथा सात प्रदेशमध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको बहुमतको सरकार बनेकाले नेपाल लामो राजनीतिक अस्थिरताबाट मुक्त भएकामा खुसी व्यक्त गरे ।
पछिल्लो १० वर्षमा नेपालमा १२ जना नेता प्रधानमन्त्री बनेको स्मरण गर्दै उहाँले आफ्नो चार वर्षे कार्यकालमा मात्र ६ जना प्रधानमन्त्रीसँग भेटघाट भएको बताए । ‘अब त्यो अवस्थाको अन्त्य भएको छ’, राजदूतले भने, ‘मेरो विचारमा यो सरकार लामो समय रहनेछ, अब नेपालले पहिलेजस्तो राजनीतिक अस्थिरता भोग्नुपर्दैन ।’
राजदूत मासासिले राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको र वर्तमान केपी ओली नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापान सक्दो सहयोग गर्न तयार रहेको प्रतबिद्धता जनाए ।
राजदूत मासासिले चुरे संरक्षण र तराई मधेसमा वर्षा याममा हेरक वर्ष आउने बाढी/पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा जापान सरकार सहयोगका लागि तयार रहेको बताए ।
काठमाडौं उपत्यकामा दैनिक रुपमा उत्पादन हुने फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै उनले हाल जापानमा प्रयोग भइरहेको फोहोर जलाउने प्रविधि नेपालमा ल्याउन सुझाव दिए ।
जापानमा हाल प्रयोगमा रहेको उक्त प्रविधिमार्फत फोहोर जलाउँदा वातावरण प्रदूषणसमेत नहुने र उर्जा शक्तिसमेत उत्पादन हुने उनको भनाइ थियो । भेटमा राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान भ्रमणको निम्ता पनि दिएका छन् ।
मन्त्री बस्नेतले जापानले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि स्वार्थरहित साझेदारका रुपमा सहयोग गर्दै आएकामा उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छन् ।












प्रतिक्रिया