–नृप हमाल
हुम्ला, १३ चैत । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाकी १६ बर्षीया किशोरी लक्ष्मी शाही छाउगोठ बाहिर लडेर घाईते भएकी छिन् । पानी परेको बेला छाउगोठ बाहिर निस्किदा किशोरी लडेर घाईते भएकी हुन् । घाइते शाहीको आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले बताएको छ ।
महिनावारी (रजश्वला) भएका बेला छाउगोठमा लड्दा शाहीको दाँया खुट्टाको पिडुलाको माथिल्लो भाग नचल्ने भएको छ । घरभन्दा टाढा रहेको छाउगोठमा छोरी लडेको आमाबाबुले पछिल्लो दिन मात्र थाहा पाएका थिए । गाउँमा किशोरी लडेको थाहा पाएपछि देवता रिसाएर यस्तो भएको भनेकाले गाउँमै देवीदेवताको पुजाआजा गरियो तर ठिक नभएको घाईते शाहीले बताईन् ।
फागुन २० गते छाउगोठमा लडेर घाईते भएकी लक्ष्मीलाई गाउँमैं धामीझाँक्री कहाँ गई उपचार गराउँदा ठिक नभएपछि चैत्र ९ गते मात्र जिल्ला अस्पताल हुम्लामा ल्याइएको आमा धनकौंरा शाहीले बताईन् । आमा धनकौंराले भनिन्, ‘गाउँमा महिनावारी भएका बेला घोडालाई छोएकोले देवता रिसाएर यस्तो भएको भनेपछि दुई खसी देवताको नाममा बलि चढाईयो तर ठिक नभएपछि अस्पतालमा ल्याएको हो ।’
जाङ्ग्राको माथिल्लो भागमा नेक अफ फिमर भएको र नेलप्लेटिङ्ग गर्नु पर्ने हुँदा जिल्ला अस्पताल हुम्लाले आइतबार नैं सुविधायुक्त अस्पतालमा उपचारका लागि रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रञ्जित कुमार यादवले बताए ।
‘अस्पतालले यहाँ उपचार हुन नसक्ने भनेपनि आफुसँग केही पनि छैन कसको भरमा जिल्ला बाहिर जाने ?’ घाईते किसोरीकी आमाले दुख व्यक्त गरिन् । कसैले सहयोग गरेमा छोरीको उपचार गर्न सकिन्थ्यो की भन्दै दुखःका आँसु पोख्न पुगेकी उनले उपचारको लागी सहयोग नपाए छोरीलाई बोकेर घर फर्किनुको विकल्प नभएको समेत बताईन् । जिल्लामा भएका संघसंस्था र सरकारी कार्यालयमा गएर सहयोगको अपिल गर्न आफु नसक्ने भएकाले छोरीको उद्दार गरिदिन समेत उनले आग्रह गरिन् ।
राज्यले छाउपडी प्रथालाई फौजदारी अपराधको सूचीमा राखी मुलुकी अपराध संहिता विधेयक २०७४ पारित गरेको भए पनि हुम्लाका गाउँहरुमा छाउपडी प्रथा व्याप्त रहेको पाईन्छ । रजश्वला तथा सुत्केरी भएको बेला छुईछाई गर्न नहुने यदि यसो गरेमा देवता रिसाउने र नराम्रो हुने अन्ध विश्वास अझै व्याप्त रहेको सिमकोट ४ हिल्दुमकी झुप्री शाहीले बताईन् ।
पुरुषले भन्दा महिला आफैँले पहिलेदेखि चलिआएको परम्परालाई छोड्न नसकेका कारण यस्ता घटना हुने गरेको उनको भनाई छ । राज्यले छाउपडीलाई कानूनी दायरामा ल्याएको घोषणा गरे पनि दुरदराजका बस्तीका महिलाहरुमा जनचेतनाको कमीले गर्दा रजश्वला र सुत्केरी भएको बेला छाउगोठमा नै बस्ने गरेका छन् ।












प्रतिक्रिया