काठमाडौं, १२ चैत । सरकारमा जान लागेका संघीय फोरमका नेताहरू प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सशंकित भएका छन्।
संविधान संशोधन गर्ने प्रतिबद्धतामा लिखित सम्झौता गर्न हिचकिचाइरहेकोे भन्दै फोरम नेताहरु सत्तासीन दलप्रति सशंकित भएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
सोही कारण पार्टी सरकारमा जान ढिलो भएको फोरमका महासचिव रामसाह यादवले बताए । उनले भने, ‘संविधान संशोधन गर्ने लिखित सहमति नभई हामी सरकारमा जान्नौं ।’ लिखित सहमति नभएकै कारण पार्टी सरकारमा नगएको पनि उनले प्रस्ट पारे । उनले भने, ‘अरु कुनै कारण छैन, लिखित सहमति नभएका कारण सरकारमा नगएका हौं ।’
प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गरेयता प्रधानमन्त्री र फोरमका अध्यक्षबीच औपचारिक वार्ता भएको छैन । औपचारिक वार्ता कहिले हुने भन्ने विषयमा आफूलाई जानकारी नभएको महासचिव यादवले बताए । सांसद प्रदीप यादवले प्रधानमन्त्रीले सहरी विकास र खानेपानी मन्त्रालयलाई फुटाएर आफूहरूलाई धोका दिएको आरोप लगाए ।
उनले भने, ‘केपी ओली र प्रचण्डजीले हामीलाई सहरी विकास खानेपानी र स्वास्थ्य मन्त्रालय दिन्छाै भन्नुभएको थियो । तर अहिले उहाँहरुले सहरी विकासबाट खानेपानी मन्त्रालयलाई अलगअलग गर्नुभएको छ ।’ सरकारले फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने आश्वासन दिएको पनि उनले बताए। सरकारले संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नगरेका कारण पार्टी सरकारमा जान ढिला भएको उनले बताए।
फोरमले सरकारमा जाने औपचारिक निर्णय गरिसकेको छ । तर सरकारमा कसकसलाई पठाउने भन्नेबारे पार्टीले निर्णय गरेको छैन । सरकारमा जान अलमल भएपछि पार्टी अध्यक्ष उपेन्द्र यादव गृहजिल्ला सुनसरी गएका छन् । उनी केही समय उतै रहने कार्यक्रम छ ।












प्रतिक्रिया