२२ कार्तिक २०८३, आइतबार

यस्तो देखियो सेतो मच्छेन्द्रनाथ रथ यात्रा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आइतबार तानेर असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ ।

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिनुभयो ।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आइतबार नै शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मनाइयो चैते दशैँ र रामनवमी 

चैत्र शुक्ल अष्टमीका दिन आइतबार शक्तिपीठमा पूजा आराधना गरी चैते दशैँ पर्व मनाइएको छ । यस अवसरमा आइतबार दिनभर उपत्यकालगायत देशभरका देवीको मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

असोजमा मनाइने बडादशैँ जति भव्य रुपमा नमनाइए पनि चैते नवरात्रमा साधना गर्नेहरुले देवीको पूजा, दुर्गा सप्तशती (चण्डी), देवी भागवत्, देवी स्तोत्र, कालिका पुराण आदि पाठ गर्छन् । यस अवसरमा उपत्यकाका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, शोभा भगवती र उपत्यका बाहिर गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक र नाला भगवती लगायतमा भक्तजनको भीड लागेको थियो ।

यसैगरी चैत्र शुक्ल नवमीमा मनाइने रामनवमी पर्व पनि आजै देशभरका श्रीरामचन्द्र मन्दिरमा श्रद्धा भक्तिसाथ पूजा आराधना गरी मनाइयो । –रासस