१३ कार्तिक २०८३, शुक्रबार

तीन सयको एमाले-माओवादी केन्द्रीय समिति

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । एमाले-माओवादी एकतापछि निर्माण हुने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय हाराहारीमा बनाउने गरी अन्तरिम विधान बनाउन गठित कार्यदलले प्रस्ताव गर्ने तयारी गरेको छ ।

कार्यदलका बीचमा करिब ३ सय १ वा २ सय ९९ सदस्यमध्ये एक संख्याको केन्द्रीय समिति बनाउने गरी प्रस्ताव तयार पारेको हो। यद्यपि, कार्यदलले निष्कर्ष भने दिइसकेको छैन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

कार्यदलले यो संख्यामै समझदारी बनाउने गरी छलफल चलाए पनि त्यसलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। संयोजन समितिले अनुमोदन गरेमा उक्त संख्याको केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सयको पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी समिति बन्नेछ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकमा अन्तरिम विधान बनाउन गठित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापा (बादल) ले तीन सयको केन्द्रीय समिति बनाउने गरी कार्यदलमा करिब समझदारी जुटेको रिपोर्टिङ गरेका थिए।

‘बादलजीले केन्द्रीय समिति ३ सय हाराहारी हुने गरी कार्यदलमा करिब समझदारी जुटेको बैठकमा रिपोटिङ गर्नुभएको थियो,’ कार्यालय सदस्य गणेश शाहले भने, ‘त्यो भनेको २९९ वा ३०१ मध्ये एक हुन सक्ने पनि बादलजीको कुरा थियो। कार्यदलले रिपोर्ट बुझाएपछि एकता संयोजन समिति बैठक बसेर यस विषयको अन्तिम निर्णय लिनेछ।’ नेता मणि थापाले पनि तीन सय हाराहारी केन्द्रीय समितिको विषयमा छलफल चलिरहेको बताए।