
काठमाडौँ, १० चैत । वरिष्ठ उद्योगी व्यवसायी दिव्यमणि राजभण्डारी प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सांसद चयन भएकोमा युरोपियन आर्थिक चेम्बर अफ नेपाल (इइसी) र नेपाल-जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज (एनजिसिसिआई)ले सम्मानित गरेको छ ।
शनिबार भएको कार्यक्रममा नेपालको औद्योगिक व्यवसायको क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत इइसी तथा एनजिसिसिआईका संस्थापकसमेत रहनुभएका राजभण्डारीलाई सम्मानित गरिएको हो ।
सो अवसरमा सांसद राजभण्डारीले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले संसद्मा रचनात्मक भूमिका निर्वाह गर्ने बताउँदै व्यवसाय क्षेत्रमा रहेका विकृति तथा विसंगतिको अन्त्य गरी समृद्धितर्फ लाग्नुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा युरोपमा नेपालको प्रचारप्रसार तथा आर्थिक विकासमा विशिष्ट योगदान पुर्याएका जर्मनका लागि नेपालका महावाणिज्यदूत डा रामप्रताप थापा तथा दक्षिण जर्मनमा नेपाल हिमालयन पेभिलियन स्थापना गरेका हेरिवेर्थ विर्थ र श्रीमती मार्जित विर्थलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई सम्मान गर्दै इइसीका अध्यक्ष विनय शाह र एनजिसिसिआईका अध्यक्ष सेनोन दोर्जे लामाले सम्मानित व्यक्तित्वले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । –रासस












प्रतिक्रिया