१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसको शुक्रबारको बैठकमा के–के भएको थियो ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । निर्वाचन समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएको छ ।

संघ र प्रदेशसभा निर्वाचन सकिएको तीन महिनापछि चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने तीन नेताले सभापति देउवाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

शुक्रबार १२ बजे सुरु भएको बैठक दिउँसो साढे चार बजेसम्म चलेको थियो। बैठकमा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले मन्तव्य व्यक्त गरेका थिए। केन्द्रीय समिति बैठक शनिबार पुनः बस्नेछ।

बैठकमा लिखित सुझाव दिँदै नेता सिंहले सभापति देउवाको रवैयाले कांग्रेसले नराम्ररी चुनाव हार्नुपरेको आरोप लगाए। देउवाको चरित्र अप्रजातान्त्रिक र अराजक शैलीको भएको आरोप पनि सिंहको छ। उनले कांग्रेसको इतिहासमै पहिलो पटक पार्टी विधानलाई देउवाले लत्याउँदै स्वेच्छाचारी रूपमा अघि बढेको आरोपसमेत लगाए।

‘सभापतिजीले कांग्रेसको विधानलाई बेवास्ता गरी अप्रजातान्त्रिक र अराजक शैलीमा पार्टी सञ्चालन गरिरहनु भएको छु’, उनले भनेका छन्, ‘भागबन्डाको संस्कृतिलाई संरक्षण, गुटलाई मलजल गरी सभापति अघि बढ्नुभएको छ।’

‘कांग्रेसमा ६०-४० को भागबन्डाको अवस्थालाई अन्त्य गर्ने वाचासहित १३ औं महाधिवेशनबाट सभापति भएका देउवाले दुई वर्षको अवधिमा पार्टी गुटको झुन्डमा परिणत गराउनुभयो’, सिंहको आरोप छ।

‘सभापतिजीले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एक बनाउनुको साटो गुटलाई नै संरक्षण गरेका कारण हामी इतिहासमै सबैभन्दा कमजोर भएका छौंं’, सिंहको लिखित सुझाव भनेका छन्।

‘राजनीतिक नियुक्ति, टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योग्यता-क्षमता आदिको कुनै प्रवाह गरिएन’, सिंहले पराजयको कारण खोतल्दै भनेका छन्, ‘गुटगत आधारमा आफूनिकट व्यक्तिलाई बढी अवसर दिएर इमानदार र योग्यलाई पाखा लगाउँदा निर्वाचनमा परेको असरबारे गम्भीर विचार विमर्श हुनु आवश्यक छ।’

सिंहले देउवाले प्रधानमन्त्री हुँदा लोक नै हँसाएको तितो टिप्पणी पनि गर्न भ्याएका छन्। ‘नेपालको इतिहासमै लोक हसाउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रा सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमान कायम गरी इतिहासमा नाम लेख्नुभएको छु’, सिंहले देउवाप्रति व्यंग्य गर्दै भनेका छन्, ‘सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नुभयो। तर, यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नुप‍र्‍यो ? यो विषयमा गम्भीर भएर कहिल्यै सोच्नुभएको छ ? ’

संसदीय दलको नेतामा देउवालाई टक्कर दिएका सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर एमाले नेतृत्वको सरकार ढाल्ने सभापतिको निर्णय गलत रहेको प्रमाणित भएको जिकिर गरे।

सिंहले जिल्ला सभापतिको भेला गरी उनीहरूको मनोभावअनुसार पार्टीलाई तल्लो तहैबाट परिमार्जन गर्नुपर्ने खाँचो पनि औंल्याएका छन्।

बैठकमा पूर्वमहामन्त्री सिटौलाले तत्काल पार्टीको अधिवेशन सुरु नगरे पार्टी समाप्त भएर जाने चेतावनी दिएका थिए।

सिटौलाले आफूले देउवालाई दिएको सुझाव नमान्दा पार्टी नै सिद्धिने खतरामा पुगेको बताएका थिए। सिटौलाले भने, ‘देउवाजी तपाईं अहिले पार्टी त कब्जा गर्न सक्नुहुन्छ तर देश वामपन्थीको कब्जामा गइसक्यो त्यतातर्फ ध्यान दिनुपर्छ कि पर्दैन।’

सिटौलाले पार्टीमा व्यापक परिवर्तनको खाँचो रहेको र त्यसका लागि तत्काल अधिवेशन सुरु गर्न देउवालाई सुझाएका थिए।

१३ आंै महाधिवेशनमा सभापतिको दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई सघाएका थिए। निर्वाचनमा पार्टी पराजय भएसँगै सिटौला पनि देउवाविरुद्ध उभिएका छन्।

बैठकमा डा.खड्काले पार्टीभित्र गुट बलियो गरी संस्थागत हुँदै गएको उल्लेख गर्दै सभापतिबाटै गुट अन्त्यको पहल हुनुपर्नेमा जोड दिए।

खड्काले पार्टीमा व्यापक सुधारको खाँचो औंल्याउँदै सबै गृटको नेतृत्व गर्नेलाई गुटभन्दा बाहिर निस्केर पार्टी बनाउन आग्रह गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिमितमा बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई पर्याप्त समय दिइने बताए।