२२ कार्तिक २०८३, आइतबार

दुई जना कर्मचारीको भरमा सिडिओ कार्यालय

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हुम्ला , ९ चैत । जिल्ला प्रशासन कार्यालय, हुम्ला दुई जना कर्मचारीको भरमा चलेको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले दैनीक कामकाज संचालन गर्दै आइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नायव सुब्बा २ जना, खरिदार ४ जना, लेखापाल १ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना र कार्यालय सहयोगी ६ जनाको दरवन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीमात्र रहेका छन् ।

प्रशासन, लेखा, मुद्दा र नागरिकता फाँट गरि चारफाँट रहेको जिल्लाको प्रमुख प्रशासनिक निकायमा सबै फाँटमा कर्मचारी नहुँदा कार्यालय सहयोगी कै भरमा केही फाँट चलि रहेको छ । कार्यालय सहयोगीले नागरिकता देखि कम्प्युटरको काम समेत गर्नु परेको एक कर्मचारी बताउँछन् ।

हुम्लामा २१ जनाले स्वईच्छिक अवकास रोजेका कारण पनि जनशक्ति बाहिरिन खोज्नु र पहिले नैं कम रहेकोे जनशक्तिबाट स्थानीय तहलाई व्यवस्थापन गर्नु परेकोले पनि कर्मचारी अभाव भएको प्रजिअ शर्माले बताए । जिल्ला प्रशासन कार्यालय, हुम्लामामा एक महिना अगाडी लोकसेवा आयोगबाट सिफारिस भई आएका दुईजना नायव सुव्वा आफ्नो पायक पर्ने स्थानीय तहमा चैत्र ४ गते सरुवा भई गएकाले पनि जिल्ला प्रशासनमा कर्मचारी अभाव देखिएको उनले बताए ।

जिल्लाका सबै कार्यालयको अवस्था उस्तै रहेको छ । जनशक्ति अभाव हुँदा कार्य सम्पादनमा प्रभाव परेको बताएका प्रजिअ शर्माले कार्यालयको कामकाजमा बाधा नपरे पनि जिल्लामा हुम्लामा स्थानीय स्तरको जनशक्ति कम भएको र बाहिरको जनशक्ति पनि धेरै नबस्ने कारणले यहाँ कर्मचारीको अभाव भएको हो ।

जिल्लाका स्थानीय तहमा समेत कर्मचारी अभाव देखिएको छ । ७ गाउँपालीका रहेको हुम्लामा ३ गाउँपालिकामा मात्र प्रमुख प्रशासकिय अधिकृत रहेका छन् भने तीन गाउँपालीकामा नायव सुब्बाले र एक गाउँपालिकामा खरिदारले प्रमुख प्रशासकिय अधिकृतको काम संचालन गरेका छन् ।