
काठमाडौँ, ८ चैत । रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेका लागि बिहीबारदेखि (आज) रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ ।
ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियाली भाषा परीक्षाको आवेदन फाराम संकलन शुरु भएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस शाखाले जनाएको छ । ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ । अहिले पनि ग्लोबल आइएमइ बैंकका काउन्टरहरुमा शुल्क तिर्नेहरुको लाइन लागेको छ ।
भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।
त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।












प्रतिक्रिया