
-रबिना बोहरा/दैनिक नेपाल
बागलुङ, ३० फागुन । बागलुङका गाउँपालिका तथा नगरपालिकाहरुमा बर्षेनी नयाँ–नयाँ सडकहरु गाउँसम्म पुग्छन् । ती सडकहरु घाम पर्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेका छन् । तर, त्यसको स्तरोन्नतीमा कसैको ध्यान जाँदैन । गाउँघरमा पाखा, बारी एवं खेतहरुलाई फाल्दै नयाँ सडक निर्माण गरिएपनि त्यसलाई बाह्रै महिना चल्न सक्ने बनाउन ध्यान गएको पाइदैन । नयाँ बनेका सडकलाई स्तरोन्नती नगर्दा घर छेउको बाटोमा धुलोले गर्दा स्थानीयवासीहरुले सास्ती खेप्नुपर्ने अवस्था छ ।
अझै बढि विद्यार्थी तथा सर्वसाधारण मर्कामा पर्ने गरेका छन् । त्यसैले सडक निर्माणको पाटो एकातिर रहिरहदा काठेखोला गाउँपालिकाले भने उत्पादनशिल क्षेत्रलाई जोड दिएको छ । प्रायजसो स्थानीय तहहरुले सडक निर्माणमा बढी प्राथमिकता दिएको देखिन्छ । काठेखोला गाउँपालिकाको वडा नम्बर १, २, ४, ६ र ७ मा १६ वटा ब्लक निर्माण गरी सुन्तला खेतीलाई विस्तार गरी सुन्तलाको पकेट क्षेत्र (ओरेञ्ज जोन) बनाउने तयारी थालिएको छ । गाउँपालिकाको झण्डै ३ हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्ने लक्ष्य छ । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेका स्थानहरुमा क्षेत्रफल विस्तार गरी स्थानीय कृषकहरुको आर्थिक आम्दानी उकास्न यस्तो अभियान थालिएको हो । गाउँपालिकाको वडा नम्बर १, २, ४ र ७ मा एक एक वटा र ६ नम्बर वडामा १३ वटा बल्क निर्माण गरेर सुन्तला खेती विस्तार गर्न लागिएको छ । यसका लागि गाउँमा रहेका अन्य रुखहरुलाई कटान गरेर सुन्तलाका बिरुवा मात्र राख्ने गरी अभियान नै सुरुवात गरिएको छ ।
अबको केही बर्षमा सुन्तला गाउँका रुपमा परिचित गराउने गरी अन्य विभिन्न किसिमका रुखहरु कटान गर्न थालिसकिएको काठेखोला गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । उनले वडा नम्बर ६ बाट मात्रै यस बर्ष १ करोड ३ लाखको सुन्तला बिक्रि वितरण भएको बताए । उनले सबै रुखलाई कटान गरी सुन्तला रोपेपछि आम्दानी अर्को बर्ष नै दोब्बर हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत कृषि ब्लक बनाउने अभियान सुरुवात गरिएको हो । गाउँपालिकाको अन्य क्षेत्रमा भन्दा बढि बिउमा सुन्तला खेती राम्रो उत्पादन हुने भएकाले पनि अन्य पेशा भन्दा बढी सुन्तला खेतीतर्फ नै ध्यान दिएको बताइएको छ । पछिल्लो समय युवाहरुको वैदेशिक रोजगारको मोह पनि बढिरहेको छ । यसलाई न्यूनिकरण गर्नका लागि पनि यो अभियान महत्वपूर्ण रुपमा मानिएको छ ।
यसै बर्ष मात्रै वडा नम्बर ६ मा मात्रै ६ हजार बढी सुन्तलाका बिरुवाहरु थप गर्ने लक्ष्य राखिएको छ । सबै वडामा एक लाख भन्दा बढि विरुवा लगाउने लक्ष्य राखिएको छ । त्यसका लागि बिरुवामा ५० प्रतिशत र अन्य मेसिन तथा सामग्रीहरुमा ७५ प्रतिशत अनुदान दिने वडा कार्यालयले बताएको छ । ‘एउटा काठको रुख हुर्काउन ३० बर्ष लाग्छ, र त्यसको मुल्याङकन गर्दा ५ हजारको मात्रै आम्दानी लिन सकिन्छ, तर सुन्तलाको बोट ५ बर्षमा फलाएर आम्दानी गर्न सकिन्छ’ वडाध्यक्ष कँडेलले भने ।












प्रतिक्रिया