पश्मिना र गलैचाको स्टल राख्न व्यवसायीलाई आग्रह
काठमाडौं, २७ मंसिर । दाङ जिल्लाको पर्यटन, कृषि, सँस्कृति एवम् व्यापारिक प्रचार प्रसार तथा प्रवद्र्धनको उद्देश्यले देउखुरी उद्योग वाणिज्य संघले आफ्नो तयारी तीव्र बनाएको छ ।
तयारी स्वरुप राजधानी रहेको संघको प्रतिनिधीमण्डलले उद्योगमन्त्री महेश वस्नेत, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा, दाङ जिल्लाका सभासदहरुलगायतसँग भेटवार्ता गरेको छ ।
भेटका क्रममा उनीहरुले दाङ देउखुरीको विकास एवम् पहिचानका निम्ति आफूहरुले सक्दो सहयोग गर्ने आश्वासन दिएको प्रतिनिधीमण्डलका सदस्य गंगाराम भट्टराईले जानकारी दिए ।
संघका उपाध्यक्ष सनमकुमार पौडेलको नेतृत्वमा रहेको चार सदस्सीय प्रनितिधीमण्डलले नेपाल उद्योग वाणिज्य माहासंघको केन्द्रीय कार्यालयमा आफूहरुले देउखुरीको लामहीमा गर्न लागेको दस दिने महोत्सवका बारेमा जानकारी गराएको थियो । महासंघले पनि देउखुरी महोत्सवलाई सहयोग गर्ने आश्वासन दिएको उपाध्यक्ष पौडेलले बताए ।
भट्टराईका अनुसार मन्त्रीद्धय वस्नेत र थापाले दाङ देउखुरीको पर्यटन, व्यापार र उद्योगको प्रवद्र्धनका लागि सरकारले सधै सहयोग गर्ने आश्वासन दिएका छन् ।
उनीहरुले दाङ जिल्लामा हुने स्थानीय उत्पादन र संस्कृतिलाई पर्यटनका माध्यमले मुलुकभरि परिचय गराउनुपर्ने दायित्व दङ्गालीहरुको रहेको बताए ।
उद्योगमन्त्री वस्नेतले भने, ‘दाङ देउखुरीलाई उद्योगको मैत्री बनाउन सरकारले सक्दो सहयोग गर्ने छ ।’ उनले दाङ देउखुरीबाट उद्योगका लागि आउने प्रस्तावमा सरकार सधै सकारात्मक हुने उल्लेख गरे ।
त्यसै गरी आपूर्तिमन्त्री थापाले पनि दाङ देउखुरीको व्यापार पवद्र्धनमा सहयोग गर्ने आश्वासन दिए । उनले देउखुरी महोत्सवमा नेपालमा निर्माण हुने गलैचाको स्टल राख्न पनि सुझाव दिएका छन् ।
‘नेपालमा निर्माण हुने गलैचा र पश्मिनाको विदेशमा राम्रो माग छ,’ आपूर्तिमन्त्री थापाले भने, ‘तर नेपालीले भने गलैचा र पश्मिनाका बारेमा राम्रो जानकारीसमेत छैन ।’ उनले सबै नेपालीलाई जानकारी गराउन देउखुरी महोत्सवमा गलैचा र पश्मिनाका स्टलहरु राख्न व्यवसायीहरुलाई आग्रह पनि गरे ।
यसैबीच, सभासद राजु खनाल, रुक्मिणी चौधरी, पार्वता चौधरी डिसी, योगेन्द्र चौधरी र गंगा थारुसँग पनि प्रतिनिधीमण्डलले भेटवार्ता गरेको छ ।
उनीहरुले देउखुरीको लामहीमा हुन लागेको महोत्सवलाई सफल बनाउनका लागि आफूहरुका तर्फबाट हुने सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।
उपाध्यक्ष पौडेलको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलमा हरिबहादुर कुँवर, ठाकुरप्रसाद भण्डारी र गंगाराम भट्टराई रहेका छन् ।















प्रतिक्रिया