
काठमाडौँ, २१ फागुन । सुरभि साहित्य प्रतिष्ठानले सुरभि नारी स्रष्टा आख्यान पुरस्कारको स्थापना गरेको छ । प्रतिष्ठानका संरक्षक प्रल्हाद चालिसेले संस्थाको अक्षयकोषमा रु ५० हजार राखी पुरस्कारको स्थापना गरेका छन् । संस्था स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ १६ गते पुरस्कार वितरण हुनेछ ।
अक्षयकोषबाट आउने ब्याजले प्रत्येक वर्ष आख्यान साहित्यमा योगदान पुर्याउने एक जना साहित्यकारलाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिए । संस्थाले प्रत्येक महिनाको तेस्रो शनिबार जोरपाटीमा आख्यान साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा स्थापित एवम् सिकारु साहित्यकारले कथा, लघु कथा, समालोचना लगायत आख्यान विधाका रचना पाठ गर्ने गर्छन् । प्रतिष्ठानले सुलेख साहित्यिक मासिक पत्रिका समेत प्रकाशन गर्दै आएको छ । –रासस












प्रतिक्रिया