कुवेत । कुवेत सरकारले गैरकानूनी रूपमा बसेका आप्रवासी कामदारलाई आममाफी दिने समय पुनः थपेको छ ।
यसअघि कुवेत सरकारले गत १५ माघमा गैरकानूनी रूपमा बसेका आप्रवासी कामदारलाई आममाफी दिने निर्णय गरेको थियो । कुवेत सरकारले गरेको सो निणर्यको अन्तिम समयावधि गत १० फागुनमा समाप्त भएपछि अहिले आममाफीको समय पुनः आगामी दुई महिनाका लागि थप गरिएको हो ।
पुनः थप गरिएको आममाफी दिने अवसरको अन्तिम म्याद आगामी २२ अप्रिलसम्म रहेको छ । कुवेत सरकारले आफ्नो मुलुकमा रहेका अवैध कामदारका लागि निकै लचकता अपनाएर पुनः आममाफी दिने समय थप्ने निर्णय गरेको हो ।
कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाता कम्पनीबाट भागेर अर्को रोजगारदाता कम्पनीमा पुगेर काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएका आप्रवासी कामदारले अहिले पुनः थपिएको समयावधिभित्र आफ्नो कानुनी प्रक्रिया पूरा गरी वैध हुन पाउनेछन् ।
कुवेत सरकारले आम माफीको अन्तिम समयावधि आगामी दुई महिनासम्म बढाएपछि नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरेर आफ्ना नागरिकलाई पनि सूचित गरेको जनाएको छ ।
कुवेतले लागू गरेको यस आममाफीको मौका प्रक्रिया भिसाको म्याद गत २४ जनवरीअघि समाप्त भएका एवं २४ जनवरीभन्दा अघि नै रोजगारदाता कम्पनीले भागेको उजुरी गरेका कम्पनी तथा घरमा काम गर्ने कामदारका हकमा मात्र लागू हुनेछ ।
गत २४ जनवरीपछि भिसाको म्याद समाप्त भएका तथा २४ जनवरीभन्दा पछि रोजगारदाता कम्पनीले भागेको उजुरी गरेका कामदारको हकमा आममाफी लागू नहुने दूतावासले जनाएको छ ।















प्रतिक्रिया