३ कार्तिक २०८३, मंगलबार

युवराज खतिवडा अर्थमन्त्री बनेपछिको प्रतिक्रिया : ‘बिरामी अर्थतन्त्र’ ले राम्रो डाक्टर पायो

56.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामकुमार शाही / दैनिक नेपाल

काठमाडौँ, १४ फागुन । वित्तिय र बैंकिङ क्षेत्रमा लामो अनुभव भएका डा. युवराज खतिवडा सोमबार नेपाल सरकारको अर्थमन्त्री भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका खतिवडाबाट नीजि क्षेत्रले निकै ठूलो अपेक्षा गरेको छ ।

गैरराजनीतिक पृष्ठभूमिका उनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक समृद्धिलाई गति दिन र लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्नेछन् भन्ने धेरैको अपेक्षा र विश्वास छ ।

सोमबार मन्त्री भएर कार्यभार सम्हालेका अर्थमन्त्री खतिवडाबाट नीजि क्षेत्र सकारात्मक परिवर्तन हुनेमा आशावादी देखिएको छ । संघीयतामा वित्तिय व्यवस्थापन र समग्र सुशासनमा उनको महत्वपूर्ण भूमिका रहने नीजि क्षेत्रको अपेक्षा छ । यसै सन्दर्भमा हामीले यस क्षेत्रका विभिन्न व्यक्तिहरुसँग छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश :

अनिलकेशरी शाह (बैंकर)

एकदमै सकारात्मक रुपमा लिएको छु । उहाँले नेपाल राष्ट्र बैंकको नेतृत्व गरेको तथा राष्ट्रिय योजना आयोगको नेतृत्व गरिसकेकाले अर्थमन्त्रीका रुपमा पनि राम्रै काम गर्नुहुनेछ भन्ने आशा गरेका छु । उहाँसँग अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको राम्रो अनुभव छ, पक्कैपनि त्यसलाई कार्यकालमा प्रयोग गर्नुहुनेछ ।

अहिले बैंकिङ क्षेत्रमा धेरै जटिलता छन्, अर्थतन्त्र र बैंकिङ क्षेत्र बुझेको मान्छे आउँदा अब पक्कै पनि केही न केही होला जस्तो लागेको छ । बिरामी मान्छेले राम्रो डाक्टर पाएझैँ लागेको छ । सबैका सुझाव सुनेर, नीजि क्षेत्रलाई पनि समेटर जानुहुनेछ भन्ने अपेक्षा छ । प्रधानन्त्री केपी शर्मा ओलीले ‘राइट म्यान, राइट जब’को कुरालाई पुष्टि गर्नुभएको छ ।

बिहानीले दिनको संकेत गर्छ भनेझैँ, सम्बन्धित क्षेत्रमा अनुभव र ज्ञान भएका खतिवडा अर्थमन्त्री बन्दा अर्थक्षेत्रका मात्र होइन सबै क्षेत्रका मान्छे खुशी हुनुपर्ने अवस्था छ ।

डा. दिनेश देवकोटा (अर्थविद्)

पूर्व गभर्नर खतिवडालाई अर्थमन्त्री बनाएको सुन्दा निकै खुशी छु । बौद्धिक र विज्ञ क्षेत्रलाई एमाले पार्टी र सिंगो राष्ट्रले नै सम्मान गरेको महशुस भएको छ । यो खतिवडाप्रतिको मात्र सम्मान मात्र नभएर सिंगो बौद्धिक र विज्ञ क्षेत्रलाई गरेको सम्मान हो । म आफैले पनि उहाँसँग विगतमा काम गरेको छु । उहाँको काम गर्ने शैलीबाट प्रभावित छु । अर्थमन्त्रीका रुपमा पनि अब्बल काम गर्नुहुनेछ भन्ने मेरो विश्वास हो ।

भद्रगोल अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई सुदृढिकरण गर्ने, समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्नुहुनेछ भन्ने विश्वास छ । अर्थतन्त्रको सुदृढिकरणका लागि सकारात्मक वातावरण निर्माण गर्नतर्फ लाग्नुहुनेछ भन्ने अपेक्षा छ ।

अशोक शेरचन (बैंकर)

बैकिङ क्षेत्रले उहाँबाट निकै ठूलो अपेक्षा गरेकोे छ । आगामी दिनमा देशको सम्पूर्ण अर्थन्तन्त्र सकारात्मक रुपमा अघि बढ्नेछ भन्ने विश्वास छ । उहाँले आर्थिक समृद्धिको अभियानमा ठूलो टेवा पु¥याउनुहुनेछ भन्ने हाम्रो विश्वास हो ।

उहाँ जत्तिको मान्छेले अर्थ मन्त्रालयको नेतृत्व गरेपछि समग्र अर्थतन्त्रमा सुधार आउनेछ । नेपाली जनताको आर्थिक अवस्थामा सुधार आउनेछ भन्ने मेरो अपेक्षा हो ।

रविना देशराज श्रेष्ठ (बैंकर)

एकमदै खुशी लागेको छ । सम्बन्धित विषयको ज्ञाता अर्थमन्त्रीका रुपमा आउँदा पक्कै पनि राम्रो काम हुनेछ भन्ने विश्वास छ । पहिले पनि हामीले उहाँको नेतृत्वमा काम गरिसकेका छौँ । निकै राम्रो काम गर्ने मान्छे हो उहाँ ।

सुशासनमा ध्यान दिने मान्छे हो । उहाँले अहिले पनि राम्रो नै गर्नुहोला भन्ने लाग्छ । संघीयता कार्यान्वयनको अवस्थामा रहेकाले बैंकरहरुलाई पनि त्यसै अनुरुप काम गर्ने सहज व्यवस्था गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

राजेन्द्र खेतान (उद्योगी)

वित्तिय रुपमा एकदमै स्वच्छ मान्छे अर्थमन्त्रालयले पाएको छ । वित्तिय रुपमा कुनै पनि स्वार्थ नभएको मान्छे अर्थमन्त्रीका रुपमा आउनु भनेको समग्र मुलुकका लागि राम्रो हो । उहाँले बैकिङ र योजना दुवै क्षेत्र बुझ्नुभएको छ । यी अलग–अलग पाटा हुन् । यी दुवै क्षेत्रको ज्ञान भएको मान्छे कमै मात्र हुन्छन्, त्यसमध्येको एउटा उहाँ हो ।

अब उहाँले योजनावद्ध रुपले मौद्रिक नीतिलाई सुधार गर्ने, मिलाउँदै लैजाने र अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने काम गर्नुहुन्छ भन्ने विश्वास छ । उहाँको आगमनले नीजि क्षेत्र एकदमै खुशी भएको छ । एकदमै उत्साहित भएको छ ।

अब उहाँकै नेतृत्वमा मुलुकले समृद्धि, सुशासन र जवाफदेहिता हासिल गर्नेछ भन्ने लाग्छ । यसमा उहाँ सफल पनि हुनुहुन्छ भन्ने मेरो विश्वास छ ।

सन्तोष कोइराला (बैंकर)

एकदमै राम्रो लागेको छ । सबल, सक्षम र उत्कृष्ट व्यक्ति अर्थमन्त्री बन्नुभएको छ । उहाँलाई अर्थमन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहान्छु । डा. खतिवडाले देशको आर्थिक अवस्थालाई सक्षम र सबल बनाउनुहुनेछ भन्ने विश्वास छ ।

गरिबी निवारण, बैंकिङ तरलता समाधान लगायतका अर्थतन्त्रसँग जोडिएका हरेक विषयमा उहाँको महत्वपूर्ण भूमिका रहनेछ । तुलनात्मक रुपमा देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानुहुनेछ भन्ने विश्वास छ ।

अहिलेसम्मका अर्थमन्त्रीले गरेको भन्दा पनि राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ । बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई सुधार गरि चाँडै नै सुधार आउनेछ भन्ने अपेक्षा गरेका छु ।