
-सीताराम चौधरी
कपिलवस्तु, १४ फागुन । भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी कृष्णनगरले बरामद गरी नष्ट गरेको छ ।
कृष्णनगर नगरपालिका १, ढेकरीबाट बरामद गरेको ९ हजार ६ सय ४० गोटा चल्ला सशस्त्रले खाल्डो खनी नष्ट गरेको हो । नष्ट गरिएको चल्ला नेपाली बजार मूल्य अनुसार ५ लाख ७८ हजार ४ सय पर्ने सशस्त्र प्रहरी बल भन्सार तथा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी निरीक्षक सत्य बुढाथोकीको कमाण्डमा खटिएको गस्ती टोलीले राति १ बजे सो चल्ला बरामद गरेको हो । प्रहरीको गाडी देखेर चल्ला व्यापारी भागेपछि बेवारिसे अवस्थाबाट बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सत्य बुढाथोकीले बताए ।
ब्रोइलर कुखुराबाटे बर्डफ्लू, स्वायनफ्लू जस्ता डरलाग्दा रोग फैलिएकाले यस्ता पंक्षीलाई नेपाल भित्र्याउन प्रतिबन्ध लगाइएको हो । प्रतिबन्धित पंक्षीजन्य वस्तु अबैध रुपमा नेपाल ल्याउन लागेको भन्दै पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
पशु क्वारेन्टाइनका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीको रोहबरमा बरामद गरिएको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।












प्रतिक्रिया