काठमाडौँ, १३ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मन्त्रि बनेको केही दिनमा नै काम शुरु गरेका छन् । मन्त्रि पण्डितले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालन भइरहेका उद्योगमाथि जरिवाना तथा कारवाही थालेका हुन् ।
पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई कारवाही गर्ने भएका छन् । आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको बताइएको छ ।
नियम मिचेर सञ्चालन भइरहेका उद्योग–व्यवसायहरुले नागरिकको प्रत्यक्ष स्वास्थ्य र वातावरणमा असर पुर्याउने भन्दै त्यस्ता उद्योग–व्यवसायमाथि कारवाही शुरु गरिएको मन्त्रि पण्डितले बताएका छन् ।
पण्डितको पहिलो कारवाहीमा काठमाडौँका चर्चित अस्पताल, होटल, दूध उत्पादन कारखानादेखि सिमेन्ट उद्योगहरुसम्म परेका छन् । जसमा काठमाडौँ मोडल अस्पताल, काठमाडौँ अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बाल अस्पताल, अरनिको सिमेन्ट उद्योग, काठमाडौँ दुग्ध विकास आयोजनालगायत रहेका छन् ।















प्रतिक्रिया