–बेलिना थापा
लमजुङ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्माण गरिएको नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा मञ्चन गरिएको छ ।
कोलकातामा शनिबार साँझ मञ्चन गरिएको नाटक पानीघट्टले दर्शकको मन जितेको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि दंग परेको प्रतिक्रिया दिएका छन् । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थता नाटकमा भेटेको उनीहरुले बताएका छन् ।
कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तर्राष्टिय नाटक उत्सवमा मञ्चन भएको नाटक हेर्न प्रवासी नेपाली तथा गैरनेपालीको भीडभाड थियो । नाट्य युद्धले चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सव आयोजना गरेको हो । जनवरी २३–२५ (फागुन ११–१३) सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन गरिएको थियो ।
पानीघट्ट नाटक हेर्न आमा रमिता सिंहसंगै आएकी छोरी सन्तोषीले नेपाली संस्कृति हेर्दा निकै खुसी लागेको बताइन् । लमजुङकी लीला गुरुङले परदेशमा आफ्नो संस्कृति देख्न पाउदा गाउँमै भएको अनुभव भएको बताइन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, नेपाल पारवहान तथा गोदाम कम्पनी लिमिटेडका विशेष अधिकृत लक्ष्मण खड्का, समाजसेवी रामप्रसाद बराल लगायतले प्रवासी नेपाली समुदायबाट नेपाली कला संस्कृति लोप हु“दै गएको अवस्थामा यसलाई जोगाउनुपर्छ भन्ने पाठ ‘पानीघट्ट’ बाट अवगत भएको बताए ।
सवा १ घण्टाको नाटक ‘पानीघट्ट’ मा वैदेशिक रोजगारी र यसपछिका समस्या, बसाइसराई, युवाशक्ति पलायन हुँदा गाउँमा देखिने सामाजिक तथा सांस्कृतिक समस्या लगायत उजागर गरिएको छ । कोलकातास्थित महाबाणिज्यदूत एकनारायण अर्यालले नाटकले नेपाली संस्कृतिको यथार्थ चित्रण गरेको दावी गरे । उनले नेपाली कलासंस्कृति बचाउन महाबाणिज्यदूतको कार्यालय लागिपरेको बताए । गायिका सुजाता बर्माले नाटक हेरेपछि नेपाली संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने धारणा सवैमा पलाएको बताए ।
नाटकका लेकख/निर्देशक पुरु लम्सालले मुलुकभित्रकै थिएटरमा मात्रै नेपाली नाटक मञ्चन भइरहेको अवस्थामा प्रवासमा गएर पनि सांस्कृतिक तथा सामाजिक सचेतना जगाउनुपर्छ भन्ने मान्यता रहेको बताए । अघिल्लो पुस्ताको वास्तविकता र अहिलेको यथार्थलाई समिश्रण गरी नाटक निर्माण गरिएको उनले बताए ।
भारतीय मञ्चमा कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने, बालकलाकार विप्लव बोहोराले अभिनय प्रस्तुत गरेका थिए । उनीहरुलाई कोलकातामा कलाकार आशा बराल र नेहा धमलाले साथ दिएका थिए ।
नाटकलाई कोलकताको अन्तराष्ट्रिय नाटक उत्सवसम्म लानको लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यपक डा. अशोक थापाले संयोजन गरेका हुन् । नेपाली नाटकका माध्ययमबाट प्रवासी नेपालीलाई आफ्नो संस्कृति र यथार्थ देखाउन कोलकतासम्म नाटक ल्याइएको उनले बताए । संस्कृतिकर्मी जयराम तिमिल्सिनाले समाजलाई नाटकका माध्ययमबाट घच्घच्याउन र ब्यूँताउन सकिने भएकाले नेपाली नाटकको ब्यापकताको अझै खाँचो रहेको बताए ।
नाटककार लम्सालले २०६४ सालमा लेखेको पानीघट्टको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको हो । लमजुङमा माघ १८ देखि २० गतेसम्म मञ्चन गरिएको नाटक ‘पानीघट्ट’ र गतवर्ष प्रदर्शन गरिएको नाटक ‘फड्के’ लाई नाटककार लम्सालले पुस्तकमा समेत उतारेका छन् ।















प्रतिक्रिया